उत्तर कोरियामा भोकमरी, एक करोड नागरिकलाई मानवीय सहयोग आवश्यक

  जेठ २७, २०७७

काठमाडौं, जेठ २७ : संयुक्त राष्ट्र संघीय मानव अधिकार क्षेत्रका एकजना विज्ञले उत्तर कोरियामा खाद्य अभाव र कुपोषणको श्रृखंला चुलिएको दाबी गरेका छन् । कोरोनाभाइरस सङ्क्रमण फैल्ने जोखिम न्यूनिकरण गर्न उत्तर कोरिया र चीनबीचको सीमा करीब पाँच महिनादेखि बन्द अवस्थामा छ ।
उत्तर कोरियामा राष्ट्र संघको मानव अधिकार सम्बन्धी विज्ञ टोमस ओजिया क्वीन्टानाले राष्ट्र संघलाई कोरियामाथिको प्रतिबन्धबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । प्रतिबन्ध खुकुलो गरिए खाद्य आपूर्ति सहज हुने उहाँले तर्क गर्नुभयो । हिन्दूस्तान टाइम्सका अनुसार प्रतिवेदनमा भनिएको छ, “ठूला शहरमा घरबारविहीन हुने बालबालिकाको संख्यामा वृद्धि भएको छ । दैनिक दुई पटक मात्रै खाने परिवारको संख्या बढ्दै छन् । वा अनाज मात्रै खान बाध्य छन् । भोकमरीमा पर्नेको संख्या वृद्धि हुँदै गएको छ ।”
राष्ट्र संघीय खाद्य कार्यक्रमकी प्रवक्ता एलिजाबेथ बिर्सले जेनेभामा पत्रकार सम्मेलनमा उत्तर कोरियामा मानवीय अवस्था कमजोर बन्न पुगेको र कुल जनसंख्याको करीब ४० प्रतिशत, वा एक करोड जनसंख्यालाई मानवीय सहयोगको खाँचो रहेको औंल्याउनुभयो ।

तपाईको प्रतिक्रिया