दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

  फागुन ०३, २०८०

देउखुरी (दाङ), ३ फागुन : घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ । दाङको घोराही –१५ दामोदार चोक नजिक आज साँझ नेपालगञ्जमा कार्यरत प्रहरी जवान यमबहादुर झाँक्रीले ‘डिउटी’मा रहेकी धनमाया थापामगरलाई गोली प्रहार गरेका थिए । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

गोली लागेर ज्यान गुमाएकी थापामगर वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत हुनुहुन्थ्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार घटनास्थलमा तीन राउण्ड गोली चलेको थियो ।

हत्या गर्ने प्रहरी जवान झाँक्री नेपाल प्रहरीको नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत रहेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका झाक्री मगरलाई प्रहरीले देउखुरीको अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया