कानुन विपरीत सञ्चालित वीर अस्पताल छेउका दुईटा फार्मेसी बन्द

  फागुन ०३, २०८०

काठमाडौं, ३ फागुन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधी व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महङ्गाेमा औषधी विक्रि वितरण गरिरहेका वीर अस्पताल छेउकै दुईवटा फार्मेसी बन्द गराएको छ । 

वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजी स्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधी महङ्गाेमा बिरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो । 

बिरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पतालभित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा बिरामीलाई बाहिरका फार्मेसीबाट महङ्गाे औषधी किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले औषधी व्यवस्था विभागका विज्ञहरु र मन्त्रालयका अधिकारी लिएर बिहीबार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पताल भित्र रहेका फार्मेसी र अस्पताल बाहिर नीजि स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरुको अनुगमन गरेका थिए । 

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा‍. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ टोली वीर अस्पताल पुगेको थियो । अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत आफू नै सहभागी हुनुभएको थियो ।

वीर लगायत अधिकांश सरकारी अस्पतालहरुले आफूले सञ्चालन गरेका फार्मेसीहरुमा बिरामीलाई चाहिने औषधी उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीहरुसँगको कमिसनको मिलेमतोमा महङ्गाेमा औषधी किनाउने गरेको गुनासो आए पनि आकस्मिक निरिक्षण गर्नु परेको मन्त्री बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “वीर लगायतका सरकारी अस्पतालहरुका फार्मेसीमा विरामीलाई आवश्यक पर्ने औषधी नराख्नुको कारण पत्ता लगाएर समाधान खोज्न अनुगमन गरिएको हो । जनतालाई अस्पतालकै फार्मेर्सीबाट न्यूनतम मूल्यमा सहज रुपमा औषधी उपलब्ध गराउनु पर्छ। कसैको मिलेमतो र कमिसनको चक्करमा बिरामीले महङ्गाेमा औषधी किन्नु पर्ने बाध्यता हटाउनु पर्छ ।” 

अनुगमनको रिपोर्ट आएपछि वीर लगायत देशभरिकै सरकारी अस्पतालहरुमा सहज रुपमा अस्पतालकै फार्मेसीबाट औषधि उपलब्ध गराइने व्यवस्था  गर्ने मन्त्री बस्नेतले बताउनुभयो । अनुगमनका क्रममा वीर अस्पतालभित्र सञ्चालनमा रहेका तीन वटै फार्मेसीमा आवश्यक औषधी फेला नपरेको अतिरिक्त सचिव डा. विकाश देवकोटाले बताउनुभयाे । भित्रै उपलब्ध हुने औषधिको लागि समेत बाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता रहेको बिरामीहरुले गुनासो गरेका छन् । 

अस्पताल बाहिरका दुई वटा फार्मेसी निरीक्षण गर्दा भद्रगोल अवस्था देखेको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बताउनुभयो । सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधी विक्री वितरण गरिरहेको, म्याद गुज्रेका औषधी विक्री वितरण गरिरहेको र औषधीको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको महानिर्देशक ढकालले जानकारी दिनुभयो । अन्य फार्मेसीहरुको पनि निरन्तर अनुगमन गरेर निर्णय लिइने ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया