कार्यकर्ताको भावना बुझेर निर्णय गर्नुपर्छ : महामन्त्री थापा

  फागुन ०२, २०८०

चितवन, २ फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले आज यहाँ आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी भनेकै घर भएको उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो ।” पार्टीभित्र गुटको पछि नलागी आम मतदाता र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टी सञ्चालन गर्ने नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने महामन्त्री थापाले बताउनुभयो । अहिले जनताले देशमा कांग्रेसबाट भ्रष्टाचार मुक्त, सुशासन र कानुनी राज्यको आशा गरेको उल्लेख गर्दै उहाँले कानुनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “गलत गर्ने नागरिकले सजाय पाउँछ भने राजनीतिमा लागेर छुट हुँदैन । चाहे कुनै दलको सभापति होस् वा उच्च ओहोदामा आसिन व्यक्ति नै किन नहोस् ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डा गोविन्द पोख्रेल र टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आग्रह पूर्वाग्रह त्यागेर सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । अहिले कांग्रेसलाई रक्त सञ्चारको आवश्यकता रहेको उल्लेख गर्दै उहाँहरुले पार्टी एक ढिक्का बनाएर लैजान आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नीवर्तमान सभापति जीतनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि उत्तम आचार्य, नगरसभापति प्रह्लाद सापकोटा, क्षेत्रीय सभापति किरणभूषण ओलीलगायतले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया