पाटन (ललितपुर), १ फागुन : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताउनुभएको छ । आज यल स्वास्थ्य सेवा केन्द्रको उदघाटन समारोहमा उहाँले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागरिकलाई उत्कृष्ट सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पाटन अस्पतालसँगको सहकार्यले कोभिडको समयमा उत्कृष्ट काम गर्न सक्यौँ, अब मुलुकै लागि उदाहरणीय बन्ने गरी स्वास्थ बीमामार्फत उपचार सेवाको काम अगाडि बढ्ने छ भन्ने विश्वास छ, अबको विकास भनेको स्वास्थ्य र शिक्षा नै हो, स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो, वि.सं.२०७२ मा सुरु भएको यो कार्यक्रम सञ्चालन गर्न ढिला हुनपुग्यो ।”
ढिला भए पनि राम्रो कामको सुरुवात गरेको महर्जनको भनाइ छ । उहाँले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन हुने गरी स्वास्थ बीमा कार्यक्रममा उपचार सेवा प्रदान गर्न स्थापना गरिएको यल स्वास्थ्य सेवा केन्द्रमा कमीकमजोरी आउन नदिने बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.राजेशलाल डङ्गोलले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रवाह हुने सेवाले नागरिकको खर्च घटाउन र रोगका कारणले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य गर्न मद्दत गर्ने धारणा राख्नुभयो ।
उहाँले बीमा कार्यक्रममार्फत् प्रवाह हुने सेवामा नगरवासीलाई निराश हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाउनुभयो । बीमा बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलाले २०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशका सात सय ५३ वटै पालिकामा सञ्चालन भएको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य बीमा सुरु गर्नुभन्दा गुणस्तरीय सेवा पाउने कुरा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले प्रथम सेवा विन्दुको अभावका कारण काठमाडौँ र ललितपुर महानगरमा यो कार्यक्रम ढिला गरी लागू भएको जानकारी गराउनुभयो ।
ललितपुर महानगरपालिका स्वास्थ्य बीमा सम्पर्क व्यक्ति दाताराम अधिकारीले यल स्वास्थ्य केन्द्रमा अहिले कर्मचारी र चिकित्सकसहित ५६ जनाको व्यवस्था भएको जानकारी गराउनुभयो । आपतकालीन सेवामा पाँच शय्या र बहिरङ्ग सेवामा पाँच शय्या रहेको स्वास्थ्य सेवा केन्द्रबाट दैनिक पाँच विशेषज्ञ सेवासहित २४ घण्टा सेवा प्रदान हुनेछ । (रासस)






