सामुहिक हत्याकाण्डमा बाँचेकाहरूको भनाइ : मध्यरातमा मदिरा खाएको र हातमा लठ्ठी देखेपछि ढोका लगाएँ

  जेठ २७, २०७७

बुटवल,जेठ २६ : रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहियामा सोमबार सामुहित हत्या भएको फर्ममा त्यो रात आठ जना बसेका थिए । पाँच जनाको हत्या भए पनि दुई जना भने संयोगले बाँचे । उनी हुन मृतक माधव मुसहरका सात बर्षीय छोरा अर्जुन मुसहर र करिब १९ बर्षीय साली बोलरी मुसहर । सोही रात त्यहां रहेका अर्का ब्यक्ति झसेन्द्र सिंजाली भने हत्या आरोपमा पक्राउ परेका छन् ।

सबै बाहिर सुतेपनि उनी दुईजना अर्को कोठामा सुतेका थिए । बांच्न सफल बोलरीका अनुसार राति एक बजेतिर झसेन्द्रले बाहिरबाट जिस्क्याउदै बोलाएका थिए । र,आफूलाई वरिपरीका गाउँलेले नराम्रो मान्ने गरेको बताएका थिए । रक्सी खाएको र हातमा लठ्ठी रहेको देखेपछि बालरीले चुक्कुल लगाएर ढोका बन्द गरिन । एक छिनपछि ढोका खोलेर हेर्दा अगाडि पट्टि सुतेको ठाउंमा दिदी भिनाजु थिएनन । अन्त सुते होलान भनेर उनी ढोकाका चुक्कुल लगाएर फेरि सुतिन ।

बिहान साहु आएर बोलाएपछि मात्र आफूले घटनाबारे थाहा पाएको बालरीले बताईन । दिदी भिनाजुलाई भेट्न आएकी उनी केही दिनदेखि यहां बसेकी थिईन । मृतक माधब मुसहरका छोरा करण मुसहर अन्तै काम गर्ने भएकाले त्यहां सुतेका थिएनन ।

प्रहरीका अनुसार उक्त रात फर्ममा मिटरबक्सबाट बिजुलीको बन्द गरिएको थियो । बिजुली झसेन्द्रले नै काटेको अनुमान छ । बिहान दूध लिन जांदा मात्र फर्म सञ्चालक कृष्णबहादुर पुनले कामदारहरु ढलेको दखेका थिए । रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार सबै कुराहरुको अनुसन्धान भइरहेको छ । प्रहरी चांडै नै निष्कर्शमा पुग्ने छ ।

मृतकमध्ये तीन कामदार,दुई स्थानीय
रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या गरिएका पाँच जनामध्ये तीन जना सोही फर्मका कामदार र दुई जना स्थानीय हुन । तीमध्ये ४० वर्षिय माधव मुसहर ३७ वर्षिय जानकी मुसहर श्रीमान श्रीमती हुन ।

उनीहरु रुपन्देहीको सैनामैना नगरपालिका ५ दर्खासीका हुन । १५ वर्षिय बालक पोखराज मुसहर अनाथ हुन । उनलाई फर्म सञ्चालक पुनले पालेका थिए । १६ वर्षिय करण चौधरी र आशिष चौधरी स्थानीय हुन । सो दिन उनीहरु त्यही सुतेका थिए । पोखराजका साथी उनीहरु प्रायः मोबाईल चलाउन त्यहाँं जाने गर्थे ।

झसेन्द्रको बिगत
हत्या आरोपमा पक्राउ परेका झसेन्द्रको घर सुर्खेत हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार डेढ महिनाअघिदेखि उनी सो फर्ममा काम गर्दथे । यसअघि उनी र उनकी श्रीमतीले रुपन्देही तिलोत्तमाको शिवपुरस्थित अर्को पशु तथा कृषि फर्ममा काम गर्थे ।

स्थानीयका अनुसार श्रीमान श्रीमती दिनहु झगडा गर्थे । अहिले श्रीमती साथमा छैनन । उनी पारिवारिक तनावमा देखिन्थे । मंलगबार बिहान फार्म भित्रै धानको भुसमा लुकेर बसेको अवस्थामा प्रहरीले झसेन्द्रलाई पक्राउ गरेको हो ।

स्थानीयका भनाईमा अरु बेला मानसिक सन्तुलन नभएको जस्ता देखिने झसेन्द्रले प्रायः रक्सी खान्थे । तर ठूलो झगडा भएको स्थानीयलाई थाहा छैन् । मृतक माधवका छोरा करणका भनाईमा गत १४ गते फर्ममा झसेन्द्रले झगडा गरेका थिए । त्यो बेला आफूसंग धेरै कचकच गरे मार्दिने धम्की दिएका थिए ।

प्रदेश प्रहरी घटनास्थलमा
घटनाको सुक्ष्म अनुसनधान गर्न प्रदेश ५ को प्रहरी टोली घटनास्थलमा खटेको छ । प्रदेश प्रहरी प्रबक्ता,एसएसपी राजकुमार बैदवारको नेतृत्वको टोली मंगलबार नै घटनास्थल आईपुगेको छ ।
प्रबक्ता बैदबारले मंगलबारबाटै अनुसन्धान अनुसन्धान शुरु गरिएको बताउनु भयो । उहांले छिट्टै घटनाको गहिराईमा पुग्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया