गण्डकीमा थप २४ मा कोरोना संक्रमण पुष्टी, कुल १४४ पुग्यो

  जेठ २७, २०७७

पोखरा, जेठ २७ : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान थपिएका २४ जनासँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४४ पुगेको जनाएको छ । पछिल्लो पटक गण्डकी प्रदेशको नवलपरासी पूर्वमा १२ जना, बागलुङमा १२ जना र म्याग्दीमा एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माकाका अनुसार नवलपरासी पूर्वको बौदीकाली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० वर्षका पुरुष, बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २१, २६ र २७ वर्षका पुरुष, बागलुङकै बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ वर्षका पुरुष र म्याग्दीको बेनी नगरपालकाको क्वारेन्टाइनमा बसेका ४६ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

अहिले संक्रमण पुष्टी भएका सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् । केही हप्तादेखि भारतबाट नेपाल भित्रिनेको संख्या बढ्दै गएपछि संक्रमितको संख्यापनि बढ्दै गएको छ । संक्रमण पुष्टी भएको सबैलाई जिल्ला अस्पतालको आइसुलेसनमा ल्याएर उपचार गर्ने प्रक्रिया सुरु भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया