रूससँगको तिक्ततापूर्ण सम्बन्धबीच फिनल्याण्डमा आइतबार राष्ट्रपतीय निर्वाचन

  माघ ११, २०८०

हेलसिन्की, ११ माघ : युक्रेनमा जारी युद्धपछि छिमेकी मुलुक रूससँगको तनावका कारण विदेश नीतिको नेतृत्व गर्ने भूमिकालाई बढावा दिएको फिनल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आगामी आइतबार मतदान हुँदैछ ।

फिनल्याण्डको सशस्त्र बलको सर्वोच्च कमाण्डरका रूपमासमेत काम गर्ने नयाँ राष्ट्रप्रमुखका लागि यूरोपको बदलिँदो भूराजनीतिक परिदृश्य मुख्य चिन्ताको विषय हुनेछ ।

पूर्व कन्जरभेटिभ प्रधानमन्त्री अलेक्जेन्डर स्टब र ग्रिन पार्टीका पूर्व विदेशमन्त्री पेक्का हाभिस्टो गरी दुई शीर्ष राजनीतिज्ञले नौ जना उम्मेदवारको समूहको नेतृत्व गरेका छन् ।

जनमत सर्वेक्षणका अनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत (५० प्रतिशत) भन्दा बढी नल्याउने तर फेब्रुअरी ११ मा हुने दोस्रो चरणको मतदानमा स्टब र हाभिस्टोबीच नै प्रतिस्पर्धा हुने सम्भावना छ ।

“फिनल्याण्डको नयाँ आउने राष्ट्रपति पहिलो पटक पश्चिम र नेटो समर्थक हुने र हाम्रो सबैभन्दा महत्वपूर्ण सम्बन्ध भनेको संयुक्त राज्य अमेरिकासँगको साझेदारी हो,” स्टबले हालैको एक टिभी अन्तर्वार्तामा भन्नुभयो ।

सन् २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि मस्को र हेल्सिन्कीबीचको सम्बन्ध बिग्रिएको थियो जसका कारण फिनल्यान्डले दशकौँ लामो सैन्य असंलग्नता त्यागेर अप्रिल २०२३ मा नेटोमा सामेल भएको थियो ।

फिनल्याण्डसँग एक हजार ३४० किलोमिटर लामो सीमा जोडिएको रूसले तुरुन्तै ‘प्रतिकारात्मक उपाय’ अपनाउने चेतावनी दिएको थियो । त्यसको केही महिनापछि सन् २०२३ को अगष्टमा फिनल्यान्डले आफ्नो पूर्वी सीमाबाट बिना भिसा प्रवेश गर्ने आप्रवासीको चाप देखियो ।

मस्कोले आप्रवासीहरूलाई अस्थिर पार्न हाइब्रिड आक्रमणमा धकेलिरहेको दाबी हेलसिन्कीले गरेको छ । फिनल्याण्डले गत नोभेम्बरमा आफ्नो पूर्वी सीमा बन्द गरेको थियो ।

शीतयुद्धपछिको समयमा हेलसिन्कीले मस्कोसँग राम्रो सम्बन्ध कायम राखेको थियो ।

वर्तमान राष्ट्रपति साउली निनिस्टोले कुनै समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो घनिष्ठ सम्बन्धको लागि गर्वसमेत गर्नुभएको थियो ।

युनिभर्सिटी अफ हेलसिन्कीको सामाजिक विज्ञान संकायका सहायक डिन हन्ना वासका अनुसार राष्ट्रपति पदका सबै उम्मेदवारले फिनल्यान्डको स्वतन्त्रता र नेटो सदस्यका रूपमा यसको नयाँ भूमिका दुवैको समर्थन गरेका छन् ।

वासले एएफपीसँग भन्नुभयो, “उनीहरू सबैको आत्मनिर्भरतामा जोड दिने बलियो विचार देखिन्छ, भविष्यमा फिनल्याण्डले स्वतन्त्र रूपमा आफ्नो रक्षाको जिम्मेवारी लिनुपर्छ र साझा युरोपेली रक्षा र नर्डिक सहयोग निर्माणमा सक्रिय योगदानकर्ता पनि हुनुपर्दछ ।

युनिभर्सिटी अफ टाम्पेरेका विदेश नीतिका प्राध्यापक टुमास फोर्सबर्गले ती सबै उम्मेदवारको विदेश नीति समान रहेको बताउनुभएको छ ।

उहाँले एएफपीसँग भन्नुभयो, “यो नेतृत्वका लागि व्यक्ति चयनभन्दा पनि नेतृत्व रहने व्यक्तिको विश्वसनीयता र जिम्मेवारी र विदेश नीतिको जानकारी राख्ने गुण, मूल्य र अन्य प्रतिनिधित्व छान्ने अवसर हो ।”

– अनुभवी अग्रगामी –
दैनिक हेल्सिंगिन सानोमाटले सोमबार प्रकाशित गरेको जनमत सर्वेक्षणमा स्टब २२ प्रतिशतका साथ अगाडि देखिनुभउको छ भने हाभिस्टो २० प्रतिशतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

वासले भन्नुभयो, “उनीहरू दुवैसँग घरेलु र विदेशी राजनीतिमा व्यापक अनुभव छ र उनीहरूलाई मतदाताले सबैभन्दा बढी महत्व दिएका छन् ।” तिनीहरू धेरै पुस्ता र लामो समयदेखि ज्ञात व्यक्ति हुन् ।

“समान राजनीतिक विचारमा पनि हाभिस्टो र स्टबले फरक पृष्ठभूमिको प्रतिनिधित्व गर्दछन्,” फोर्सबर्गले उल्लेख गरे । “यी दुईबीचको दोस्रो चरणको चुनावमा बहस निर्णायक हुन सक्छ,” फोर्सबर्गले भन्नुभयो ।

दक्षिणपन्थी फिन्स पार्टीका उम्मेदवार जुस्सी हला–अहाले १८ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने पूर्व युरोपेली आयुक्त ओली रेहनले १२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

हला–आहा र रेहन अझै पनि दोस्रो चरणमा पुग्न सक्ने फोर्सबर्गले बताउनुभयो । “यद्यपि, हेला–आहले दोस्रो चरण जित्ने सम्भावना छैन किनकि उहालाईँ धेरै विभाजनकारी नेताको रूपमा हेरिएको छ,” उहाँले भन्नुभयो ।

संसदीय राजनीतिबाट के हासिल गर्न सकिन्छ भन्ने आम शङ्काले भरिएको वातावरणमा फिनल्याण्डको राष्ट्रपतिप्रति बढी विश्वास रहेको वासले बताउनुभयो ।

उहाँले भन्नुभयो, “संस्थागत रूपमा हेर्दा राष्ट्रपतिप्रति फिनल्याण्डका जनताको अधीक विश्वास छ । राष्ट्रपतिलाई देशको सशक्त नेताको रूपमा हेरिन्छ ।”

फिनल्याण्डको राष्ट्रपतीय चुनावमा ७० प्रतिशतको हाराहारीमा मतदान हुने अनुमान गरिएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया