माओवादीबाट सहिद परिवारकी शर्मा उम्मेदवार

  पुष २२, २०८०

लेखनाथ, २२ पुस : नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। गण्डकीमा महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार बन्ने निश्चित भएको हो ।

पर्वतको कुस्मा नगरपालिका वडा नम्बर १० की बासिन्दा शर्मा सहिद परिवारकी सदस्य हुनुहुन्छ। उहाँका श्रीमान् विजय सुवेदीको माओवादी विद्रोहका क्रममा २०५९ मा स्याङ्जाको सिर्सेकोटको निधन भएको थियो । 

नेकपा (माओवादी केन्द्र) पर्वत जिल्ला संयोजक शर्मा ०६० सालदेखि माओवादी केन्द्रमा सक्रिय हुनुहुन्छ। माओवादीकी प्रदेश कमिटी सदस्य उहाँ ०६४ सालमा संविधान सभा सदस्य उम्मेदवार हुनुहुन्थ्यो ।

सत्ता गठबन्धनमा गण्डकीका बाँकी दुई स्थानमा नेपाली कांग्रेसले उम्मेदवारी दिने तय भएको छ। कांग्रेसले अन्य र अल्पसंख्यक तथा अपाङ्ग कोटाबाट उम्मेदवारी दिँदै छ। राष्ट्रिय सभामा रिक्त हुने  २० मध्ये १९ पदका सोमबार मनोनयन दर्ता हुँदैछ। निर्वाचन भने माघ ११ गते हुँदैछ ।

यता, नेकपा (एमाले) ले पनि उम्मेदवार तय गरेको छ। एमाले प्रदेश अध्यक्ष नवराज शर्माले अन्य क्लस्टरबाट मोहनलाल शर्मा, महिलाबाट सम्झना देवकोटा र अपाङ्ग, अल्पसङ्ख्यक क्लस्टरबाट हेमन्त शेरचन उम्मेदवार बन्ने निर्णय भएको छ ।

नेपाली कांग्रेसले उम्मेदवार छान्न बाँकी छ। कांग्रेस गण्डकीले पुस १० गते नै एक सय अठहत्तर जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको थियो । 

गण्डकीमा एक्ला एक्लै चुनाव लड्ने हो भने कांग्रेस सबैभन्दा बलियो छ। गण्डकीमा प्रदेश सभामा ६० सदस्य र ८५ पालिकाबाट एक सय ७० मतदाता छन्। प्रदेश सभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० मतभार छ। प्रदेशमा कुल मतभार छ हजार चार सय १० छ ।

प्रदेश सभामा कांग्रेसका २७ सदस्य छन् भने स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरेर ६७ जना छन्। यसरी कांग्रेसको मतभार दुई हजार तीन सय २४ छ। एमालेका २२ प्रदेश सभा सदस्य, पालिका प्रमुख ३५ र उपप्रमुख ३३ जना छन्। एमालेको कुल मतभार दुई हजार चार सय ५८ हुन आउँछ। तीमध्ये ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपाली सरकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन हुनुहुन्छ ।

प्रदेशमा माओवादीसँग आठ प्रदेश सभा सदस्य, पालिका प्रमुख ११ र उपप्रमुख १९ जना छन्। माओवादी केन्द्रसँग नौ सय ९४ मतभार देखिन्छ। प्रदेशमा एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य र एक नगर प्रमुख छन्। यहाँ समाजवादीसँग ७२ मतभार छ । 

प्रदेश सभामा प्रतिनिधित्व नरहेको राष्ट्रिय जनमोर्चाका पालिका प्रमुख दुई र उपप्रमुख एक हुँदा मतभार ५७ छ। दुई प्रदेश सभा सदस्य रहेको राप्रपाको एक सय छ मतभार छ।  मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जित्नुभएको हो ।

अहिले सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मिल्दा गठबन्धनको मत तीन हजार आठ सय २७ हुन्छ। यसरी गठबन्धनकै साझा उम्मेदवार मैदानमा आएमा उनीहरू सबै विजयी हुने अङ्कगणित देखिन्छ ।

तपाईको प्रतिक्रिया