उच्च अदालतमा ३९ न्यायाधीश सिफारिस (नामावलीसहित)

  पुष १८, २०८०

काठमाडौँ, १८ पुस : न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहनुभएको छ । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।

यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।

परिषद्ले जिल्ला न्यायाधीशबाट २६, न्याय, कानुन र सरकारी वकिल समूहका सहसचिवबाट चार र कानुन व्यवसायीबाट नौ जनालाई नियुक्तिका लागि नाम सिफारिस गरेको छ । जिल्ला अदालतबाट राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरू, खड्कबहादुर केसी उच्चमा सिफारिस हुनुभएको छ । 

यस्तै सूर्यनाथप्रकाश अधिकारी, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासेनी, ओमप्रकाश अर्याल, भरत लम्साल, कृपासुर कार्की, हेमन्त रावल, विष्णुप्रसाद अर्याल, ध्रुवकुमार पिया, सूर्यप्रसाद पराजुली, कृष्णप्रसाद सुवेदी, दुर्गाप्रसाद ढुङ्गेल र तेजन्द्रप्रसाद शर्मा उच्चमा सिफारिस हुनुभएको छ । जिल्ला अदालतबाट उच्चमा सिफारिस हुने अन्यमा डिल्लीरत्न श्रेष्ठ, दण्डपाणि शर्मा, टीकाराम आचार्य, उमेश कोइराला, कृष्णमुरारी सिवाकोटी, विदुर कोइराला र नारायणप्रसाद सुवेदी हुनुहुन्छ । 

यस्तै सरकारी वकिल समूहबाट रमादेवी पराजुली र हरिप्रसाद जोशी उच्चको न्यायाधीशमा सिफारिस हुनुभएको छ । न्याय सेवाबाट सहसचिव नेत्रप्रसाद आचार्य र कानुनबाट कोशलचन्द्र सुवेदी न्यायाधीशमा सिफारिस हुनुभएको छ । 

कानुन व्यवसायीबाट खेमराज भट्ट, अस्मिनकुमार राई, मातृकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डङ्गोल, सरला मोक्तान, नरेशकुमार चौधरी, कैलाश गुरुङ र माधव धिताल न्यायाधीशमा सिफारिस हुनुभएको छ । सिफारिसमा परेका कानुन व्यवसायीमा अधिवक्ता प्रमाणपत्र नम्बर छ हजार २९० देखि नौ हजार ३८७ सम्मका हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया