गाजामा सङ्क्रामक रोग फैलियो : संयुक्त राष्ट्रसंघ एजेन्सी

  पुष १४, २०८०

गाजा, १४ पुस : मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) ले मानवीय सहायताको अभाव र त्यसपछिको विनाशकारी नतिजा भोगेको गाजा पट्टीमा सङ्क्रामक रोग फैलिँदै गएको बताएको छ ।

गाजामा रोग र माहमारी तीव्र भएको छ । विशेष गरी दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । एजेन्सीले बताए अनुसार प्यालेस्टिनी स्वास्थ्य प्रणालीलाई यसले थप जटिल बनएको छ ।

गाजा पट्टीका अधिकांश अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् । लगभग १ लाख ८० हजार मानिसहरू श्वासप्रश्वासको संक्रमणबाट पीडित छन् । त्यस्तै १ लाख ३६ हजार भन्दा बढी झाडापखालाबाट ग्रसित छन् । तीमध्ये आधा जनसङ्ख्या पाँच वर्ष मुनिका बालबालिका छन् ।

यसबीचमा ५५ हजार ४०० जना स्क्याविस, ५ हजार ३३० जनालाई चिकेनपक्स, ४२ हजार ७००लाई छालाको सङ्क्रमण र १२६ जना मेनिन्जाइटिसबाट पीडित रहेको बताइएको छ ।

स्रोतका अनुसार गाजामा १ करोड ९० लाख जनसङ्ख्याको लगभग ८५ प्रतिशत जनता आन्तरिक रूपमा विस्थापित भएका छन् । उनीहरू शरण खोज्न बारम्बार यताउता सर्न बाध्य छन् ।

संयुक्त राष्ट्रसंघको कार्यालयले केरेम शालोम क्रसिङको आसपासमा भएका ठूला सुरक्षा घटनाहरूका कारण डिसेम्बर १७ मा ‘करिडोर’ आंशिक रूपमा पुन: खोलिएको थियो । तर बीच बीचमा यो अवरोध हुँदै आएको छ । इजरायल र गाजा बीचको यस क्रसिङबाट मानवीय सहायता विगत चार दिनमा रोकिएको थियो ।

यद्यपि यस्तै जटिलताका बाबजुद खाद्यान्न र औषधिले भरिएका ८१ ट्रक इजिप्टको राफा क्रसिङ हुँदै शुक्रबार गाजा प्रवेश गरेको कार्यालयले जनाएको छ ।

मानवीय सहायताको ढुवानीमा पनि थुप्रै चुनौतीहरूको सामना गर्नु परिरहेको छ । प्यालेस्टाइनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ राहत र कार्य एजेन्सीले इजरायली सेनाले तोकेको मार्गमा उत्तरी गाजाबाट फर्किरहेको सहायता ढुवानी यानमा पनि शुक्रबार गोलीबारी गरेको र एउटा गाडीमा क्षति पुगेको बताएको छ ।

यसै बीच विश्व खाद्य कार्यक्रमले केही दिन अघि प्यालेस्टिनी एन्क्लेभले तीव्र खाद्य असुरक्षाको जोखिम मोलिरहकेको र यप बढ्दो क्रममा रहेको जनाएको थियो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया