पोखरा, जेठ २५ : आइतबार गण्डकी प्रदेशका स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकी प्रदेशका चार जिल्लामा थप ३८ सङ्क्रमित भएको पुष्टि गर्नुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् । त्यस्तै गोरखा र बागलुङका १०/१० जना छन् । गोरखा जिल्लामै पहिलो पटक संक्रमित भेटिएका हुन् । यसअघि कञ्चनपुरमा कार्यररत गोरखाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि हुनेमा बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २९ र २६ वर्षीय तथा एक जना उमेर नखुलेका पुरुष र ढोरपाटन नगरपालिकाका २६ वर्षीय एक पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय तथा भिरकोट नगरपालिका ४५ वर्षका पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गोरखाको पालुङटार नगरपालिकाका १७ वर्षका पुरुष र गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २१ र २३ वर्षीय गरी १० जनामा कोरोना पुष्टि भएको हो । नवलपरासी बर्दाघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका २०, ३५, ३५ र ४५ वर्षका चार जनाका कोरोना पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा शनिबार राति उनीहरुको पीसीआर परीक्षण गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले संक्रमितलाई सम्बन्धित जिल्लाको अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताए ।






