काठमाडाैँ, १२ पुस : नेपाली साहित्यका किशोर रचनाकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित उपन्यास ‘मेघमानव’ लोकार्पण भएको छ । नेपाली लेखक सङ्घद्वारा आज आयोजित एक कार्यक्रममा १८ वर्षीय लेखक मर्सिफुलको उपन्यास लोकार्पित भएको हो ।
कक्षा १२ मा अध्ययनरत लेखकको यो दोस्रो उपन्यास हो । यसअघि १२ वर्षको उमेरमा उहाँको पहिलो उपन्यास ‘पञ्चमणि’ प्रकाशित भएको थियो । लेखक मर्सिफुलको २०७५ सालमा प्रकाशित पहिलो उन्यासको दोस्रो शृङ्खलाका रुपमा यो उपन्यास आएको हो ।
पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि आख्यानकार धु्रवचन्द्र गौतमले भन्नुभयो, “साहित्य लेखनमा अनिवार्य शर्त भनेको कल्पनाशीलता हो, जुन लेखक अर्चितबाबुमा प्रचुरमात्रामा छ । १२ वर्षको उमेरमा कविता र कथा लेख्नु अनौठो होइन । यसअघि यति सानो उमेरमा उपन्यास लेखेर प्रकाशन भएको मलाई थाहा छैन ।”
नेपाली लेखक सङ्घ केन्दी्रय कार्यसमितिका अध्यक्ष तीर्थ श्रेष्ठले सानो उमेरमा लेखनको चुनौती लिनु लेखकको सबल पक्ष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चुलिसम्म त्यहीँ पुग्छ जो चुनौतीको निरन्तर सामना गर्नसक्छ । त्यहीभएर लेखनमा निरन्तरता कायम हुनुपर्छ ।”
उपन्यासका समालोक अनुपमा रेग्मीले उपन्यासको शृङ्खला लेखनको इतिहास नेपालमा नयाँ नरहेको बताउँदै मेघमानव कल्पनामा आधारित रहेको उल्लेख गर्नुभयो । “उपन्यासमा विज्ञान, ऐतिहासिकलगायत पक्ष कल्पनामा आधारित छन् । यसमा उपन्यासकारको कल्पनाशक्ति बेजोड छ । मूल युद्धको विषयलाई उठाइए पनि टाइममेसिनजस्तो अति काल्पनिक तत्वको समायोजनले उपन्यास पठनीय बनाएको छ ।” रेग्मीले लेखकको उमेरअनुसार गरिएका शब्द चयन एकदमै मीठो रहेका भन्दै भाषिक क्षमता दरिलो रहेको बताउनुभयो ।
उपन्यासमाथि समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्दै समालोचक शैलेन्द्र प्रकाशले लेखकको शैली सुन्दर रहेको बताउनुभयो । उहाँले १८ वर्षको उमेरमा दुई उपन्यास प्रकाशन हुनु नेपाली साहित्यका लागि गौरवपूर्ण अवस्था रहेको बताउनुभयो ।
समारोहमा लेखक मर्सिफुलले भन्नुभयो, “उक्त उपन्यास कथाको रुपमा लेख्न सुरु गरेको थिएँ । कथा तीन पुस्तासम्म गएपछि उपन्यासको आकार दिएँ । यसअघिको उपन्यासमा पञ्चमणि अर्थात पाँचवटा मणिको चर्चा भएको छ भने यसमा मेघमानव त्यही पात्रको सङ्घर्षको कथा हो । जसले सबैभन्दा शक्तिशाली मणि प्राप्त गरेको हुन्छ ।” उपन्यासमा मणिको सही र गलत प्रयोगले देखिने प्रभाव र पात्रको कथा लेखिएको उहाँको भनँइ थियो । लेखकले आफू ‘ह्यारी पोर्टर’ बाट प्रभावित रहेको बताउनुभयो ।