मूर्तिकार मैनालीका कलासम्बन्धी तीन पुस्तक सार्वजनिक

  पुष १२, २०८०

काठमाडौँ, १२ पुस : मूर्तिकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति ठाकुरप्रसाद मैनालीद्वारा लिखित तथा सङ्कलित तीन पुस्तक ‘कलाका कुरा’, ‘मेरो कामना’ तथा ‘सिर्जना र विवेचना’ विमोचन गरिएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, मूर्तिकला विभाग र ‘आरम्भ’ (नेपाली समसामयिक मूर्तिकारहरूको समूह)को संयुक्त आयोजनामा आज नक्सालस्थित प्रतिष्ठानमा ती कृति सार्वजनिक गरिएका हुन् । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ रमेश खनाल, ज्ञानेन्द्र विवशले संयुक्तरूपमा ती पुस्तक विमोचन गर्नुभएको हो ।

त्यस अवसरमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भन्नुभयो, “ठाकुरप्रसाद मैनाली जिउँदो सम्पदा हुनुहुन्छ । पुस्ता हस्तान्तरणका लागि सदैव ऊर्जा दिनुहुने उहाँको व्यक्तित्व, कृतित्व उदाहरणीय छ ।” उहाँले मैनालीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्दै जानुपर्ने बताउनुभयो ।

उपकुलपति लालकाजी लामाले मैनालीले विविध पाटोमा काम गर्न सकिन्छ भनेर सन्देश दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको ऊर्जाशील जीवन अझ सिर्जनशील होस् भन्ने कामना गर्दछु ।” कलाकार मैनालीले आफूले भन्नुपर्ने सबैकुरा पुस्तकमै उल्लेख गरेको बताउँदै पुस्तक सार्वजनिक गरिदिएकामा ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद दिनुभयो ।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारीले मैनाली नेपाली आधुनिक मूर्तिकला क्षेत्रका विशिष्ट प्रतिभा भएको बताउनुभयो । कला लेखक तथा प्राज्ञ ज्ञानेन्द्र विवशले ठाकुरप्रसाद मैनाली समग्र नेपाली कलाको दस्तावेज हुनुहुन्छ भन्दै उहाँको कृतित्वलाई कलाकार, विद्यार्थीले सन्दर्भ सामग्रीको रूपमा लिने बताउनुभयो ।

मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सार्वजनिक पुस्तक वास्तवमै कला इतिहासका दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो,“कला सृजना गर्ने खुराकका रूपमा यी पुस्तक आएका छन् ।” उहाँले प्रतिष्ठानले अब मूर्तिकलाको प्रदर्शनी गर्ने तयारी गरिरहेको जानकारी दिँदै पहिलो प्रदर्शनी ठाकुरप्रसाद मैनालीको गर्ने तयारी गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया