चार वेदका अनुवादक लुइँटेलको निधन

  पुष १०, २०८०

काठमाडौँ, १० पुस : संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला र उच्च रक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उहाँका सहपाठी घनश्याम कोइरालाले जानकारी दिनुभयो । 

लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अर्थवेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त, गरुडपुराण, श्रीमद्भागवत, महापुराण, छान्दग्योपनिषद, शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गर्नुभएको छ । ‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उहाँले हिन्दीबाट नेपालीमा अनुवाद गर्नुभएको जनाइएको छ । 

लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाउनु भएको छ । परिश्रमी र स्वाभिमानी स्वभावका उहाँ अध्ययन, अनुसन्धानमा विशेष रुचि राख्नुहुन्थ्यो । स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । (रासस)

तपाईको प्रतिक्रिया