लम्की जेठ २३ : कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अल्पत्र परेका नेपाली नागरिक आउने क्रममा शुक्रबार पनि पाँचहजार बढी नेपाल भित्रिएका छन् । कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार २४४ जना नेपाली नागरिक शुक्रबार नेपाल भित्रिएका छन् । ७१५ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक रविन्द्रनाथ पौडेलले बिहीबार भन्दा केही सङ्ख्या घटेको बताउँदै गड्डा चौकी नाकाबाट एकहजार ५१ जना नेपाली नागरिक भित्रिएको बताउनुभयो । उक्त नाकाबाट भारत जानेको सङ्ख्या भने शुक्रबार अरु दिन भन्दा बढेको छ । ४२९ भारतीय नागरिक गड्डा चौकी नाका भएर भारत गएका छन् । कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आउने नेपालीको सङ्ख्या बिहीबार भन्दा शुक्रबार बढेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त नाकाबाट चार हजार १९३ नेपाली नागरिक भित्रिएका छन् भने २८६ भारतीय नागरिक बाहिरिएका छन् । योसँगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गते यता नेपाल भित्रिने नेपाली करिब ८४ हजार पुगेको छ भने बाहिरिने भारतीय नागरिक करिब १२ हजार पुगेको छ ।






