एनसेल सेयर खरिद-बिक्री शङ्कास्पद रहेको सत्ता गठबन्धनको निष्कर्ष

  मंसिर २०, २०८०

काठमाडौँ, २० मंसिर : सत्ता गठबन्धनले एनसेल सेयर खरिद-बिक्री शङ्कास्पद रहेको भन्दै यस विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था विपरीत हुने गरी सेयर खरिद विक्री भएकाले गभीर छानबिन हुनु पर्नेमा सत्ताघटक दलहरूको साझा धारणा बनेको बताउनुभयो ।

‘एनसेलको शेयर खरिद बिक्री बारेमा जे जति कोणबाट प्रश्नहरू उठेका छन्, यी गम्भीर र जायज छन् । यसका बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्छ र सूक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्छ र यो विषयलाई देश र जनताको हितमा कानुन बमोजिम गर्नुपर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,” नेता लेखकले भन्नुभयो ।

बैठकमा सहभागी नेताहरूले यस विषयमा अध्ययन गर्न छुट्टै उच्च स्तरीय छानविन समिति गठन गर्न सरकारलाई सुझाव दिएका छन् ।

एनसेलले सेयर विक्री गरेसँगै दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् ।

नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ । यसै बीच प्रधानमन्त्रीले यस विषयमा छलफल गर्न आज सत्ता घटक दलहरूको बैठक बोलाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया