काठमाडौं, जेठ २२ : नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।
मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि भर्खरै हामीले मन्त्रालयमा खबर गरेका छौं ।’ कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन ।
डा. गिरीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा बिहीबार पाल्पाको मृतक एकसहित अर्घाखाँचीको १, नवलपरासीको २ र रुपन्देहीको १८ सहित २२ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।
यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक गरी १० जनाको मृत्यु भएको छ ।






