रौतहट, जेठ २२ : रौतहटमा बिहिवार थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भारसबाट संक्रमित हुनेको संख्या ३८३ पुगेको छ ।
काठमाडौंको टेकु स्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ, गुजरा, माधवनारायण, गढिमाई, चन्द्रपुर, फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
सबभन्दा बढी इशनाथ नगरपालिकाका ४६ जना, गुजरा नगपालिकाका ८ जना, गढिमाई नगरपालिकाका ७ जना र फतुवा विजयपुर नगरपालिकाका १ जना, माधवनारायण नगरपालिकाका १ जना, चन्द्रपुर नगरपालिकाका १ जना र दुर्गा भगवती गाउँपाललिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभएको छ ।
बिहिवार संक्रमण पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेका छन । यसअघि बुधवार मात्रै ११ जनामा संक्रमण पुष्टि भएको थियो ।
यसअघि जिल्लाको १७ वटा स्थानीय तहमा मात्रै संक्रमित भेटिएकामा बिहिवारदेखि जिल्लाका १८ वटै स्थानीय तहमा संक्रमति फेला परिसकेका छन । अहिलेसम्म संक्रमित फेला नपरेका चन्द्रपुर नगरपालिकामा पनि एक जनामा संक्रमण पुष्टि भएसंगै जिल्लाको १८ वटै स्थानीय तहमा कोरोना फैलिएको छ ।






