विभिन्न देशका राष्ट्रप्रमुखबाट समवेदना

  कार्तिक २५, २०८०

काठमाडौँ, २५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखले समवेदना सन्देश पठाउनुभएको छ ।

जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर , चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन, निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा साभेद्रा, कतारका अमिर शेख तमिम विन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देशको पठाउनुभएको हो ।

उहाँहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सन्देशमा राष्ट्रप्रमुखहरुले प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारकोतर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनःस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । यसअघि राष्ट्रपति पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाउनुभएको थियो । रासस

तपाईको प्रतिक्रिया