म्यान्माको जातीय समूहद्वारा जुन्ता आक्रमणमा थप चौकीमाथि कब्जा

  कार्तिक १८, २०८०

याङ्गुन, १८ कात्तिक : म्यान्माको जुन्ता सरकारविरुद्ध मुलुकको उत्तरी क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएका त्यहाँका जातीय सशस्त्र समूहहरूले शनिबार केही चौकीमाथि कब्जा गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यसै साता चीनको सीमा नजिक शान राज्यको ठूलो हिस्सामा लडाइँ बढेको छ । लडाइँका कारण २३ हजारभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए), ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) र अराकान आर्मी (एए) ले आफूहरूले दर्जनौँ चौकी र चार सहर कब्जा गर्नुका साथै चीन जाने महत्वपूर्ण व्यापारिक मार्ग अवरुद्ध पारेको बताएका छन् ।

टिएनएलएका लडाकूहरूले शनिबार उत्तरी शान राज्यको सबैभन्दा ठूलो सहर तथा सेनाको पूर्वी कमान्डको घर लासियो नजिकै सैन्य समर्थक मिलिसियाले नियन्त्रण लिएको दुई चौकीलाई कब्जामा लिएको स्थानीय अखबारले बताएका छन् ।

टिएनएलएले नम्हकममा करिब चार घन्टाको दुरीमा अग्रता कायम गरेको छ । “हामीले आज बिहान चार चौकी कब्जामा लियौँ, दुई वटा लासियो र अरु दुई वटा नम्हकमका थिए”, टिएनएलएका एक सदस्यले एएफपीलाई भने ।

एमएनडिएएले उसले पूर्वमा तीन सैन्य चौकी कब्जामा लिएको बताएको छ । जुन्ताले शनिबार भएको झडपका विषयमा कुनै प्रतिक्रिया दिएको छैन तर बिहीबार एक प्रवक्ताले सहयोगी जातीय सशस्त्र समूहहरूले शान राज्यका थुप्रै सरहमाथि कब्जा गरेको भन्ने दाबी ‘प्रचार’ का रूपमा मात्र भएको भन्दै अस्वीकार गरेका थिए ।

छिमेकी कचिन राज्यमा रहेको अर्को जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स (केआइए) आफ्नो सेनामा भएको आक्रमणमा सामेल भएको र त्यसको प्रतिकार गर्ने जुन्ताले शनिबार बताएको छ । जुन्ताले चिनियाँ सीमामा केआइएको मुख्यालय रहेको सुदूर सहर लाइजामाथि गोलाबारी गरेको बताएको छ ।

जुन्ता प्रमुख मिन आङ ह्लाइङले यसै साता सशस्त्र समूहविरुद्ध सेनाले जवाफी कारवाही सुरु गर्ने वाचा गर्नुभएको थियो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया