पोखरा महानगरले जाजरकोट पठायो राहत टोली, ५० लाख रुपैयाँ राहतकाे घोषणा

  कार्तिक १८, २०८०

कास्की, १८ कात्तिक – पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहित १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले जानकारी गराउनुभयो ।

टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य हुनुहुन्छ । महानगरपालिकाका जनप्रतिनिधिहरुको एक महिनाको पारिश्रमिक पनि राहत स्वरूप सहयोग गर्ने घोषणा गरिएको छ । अहिले त्रिपाल, लत्ताकपडा, ब्ल्याङ्केट र औषधि लिएर टोली हिँडेको उहाँले जानकारी दिनुभयो ।

मेयर, उपमेयर लगायत वडाध्यक्ष र कार्यपालिका सदस्यको एक महिनाको तलबबाट शोधभर्ना हुने गरी १३ लाख १५ हजार बराबरको सामग्री पठाइएको आचार्यले बताउनु भयो । पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ ।

तपाईको प्रतिक्रिया