तेल अभिभ, १८ कात्तिक : गाजाको सबैभन्दा ठूलो अस्पताल नजिकै एउटा एम्बुलेन्समा इजरायलले गरेको घातक आक्रमणका कारण आफू स्तब्ध भएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले बताउनुभएको छ ।
गाजा शहरको अल–शिफा अस्पतालबाहिर क्षतिग्रस्त एम्बुलेन्सको छेउमा आफुले थुप्रै शव देखेको एएफपीका एक पत्रकारले बताए । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले उक्त घटनामा १३ जनाको मृत्यु भएको जनाएको छ ।
हमासको प्रभावमा रहेको प्यालेष्टिनी सरकारले पनि इजरायली सेनाले गाजा शहरबाट इजिप्टसँग जोडिएको राफा सीमा नाकातर्फ घाइतेहरूलाई ओसारपसार गरिरहेको एम्बुलेन्समाथि पनि आक्रमण गरेको बताएको छ ।
इजरायली सेनाले युद्ध क्षेत्रमा हमासको लडाकू समूहले प्रयोग गरेको भनी सेनाले पहिचान गरेको एम्बुलेन्समा हवाई आक्रमण गरेको जनाएको छ । इजिप्टको स्वास्थ्य मन्त्रालयले अल–शिफामा भएको ‘घटना’ मा घाइते बनेका २८ प्यालेस्टिनीलाई शुक्रबार इजिप्टका अस्पतालमा उपचारका लागि लगिएको जनाएको छ ।
गत अक्टोबर ७ मा हमासले इजरायली क्षेत्रमा गरेको रक्तपातपूर्ण आक्रमणमा परी एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् भने हमास शासित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा नौ हजार २२७ जनाभन्दा बढीको मृत्यु भएको छ ।
सर्वसाधारणको हताहत रोक्न इजरायली पक्षसँग अमेरिकाको आग्रह
अमेरिकाका शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले गाजामा रहेका प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि थप कदम चाल्न आफ्नो सहयोगी देश इजरायलका नेताहरूलाई आग्रह गर्नुभएको छ ।
शनिबार उहाँले द्वन्द्वका कारण नागरिकको मृत्यु हुनेको सङ्ख्याबारे चिन्ता र आक्रोश व्यक्त गरेका पाँच अरब मुलुकका विदेशमन्त्रीसँग छिमेकी जोर्डनमा वार्ता गर्ने कार्यक्रम रहेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि अमेरिकी विदेशमन्त्री ब्लिन्केनले बन्धकहरूको रिहाई सुनिश्चित गर्न र गाजाको सङ्कटग्रस्त जनसङ्ख्यालाई सहायता वितरण गर्न अनुमति दिन ‘मानवीय विराम’ को विचारबारे छलफल भएको बताउनुभएको छ ।
उहाँले पत्रकारहरूसँग भन्नुभयो, “मानवीय विरामहरूले जमीनमा आवागमनलाई सुविधाजनक बनाउनेछ र प्यालेष्टिनी सर्वसाधारणको सुरक्षा बढाउनेछ र मानवीय सहायताको अधिक प्रभावकारी र दिगो वितरणलाई अनुमति दिनेछ भन्ने हामी विश्वास गर्दछौं ।”
उहाँले प्यालेस्टिनी राज्यको अन्तिम मान्यताका लागि वासिङ्टनको लामो समयदेखिको समर्थनलाई दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “यहूदी र इजरायलका दुई थरी जनताका लागि स्थायी सुरक्षा सुनिश्चित गर्ने यो एक मात्र तरिका हो ।”
नेतन्याहूले गाजामा अक्टोबर ७ मा भएको आक्रमणका क्रममा हमासले कब्जामा लिएका अनुमानित २४१ जना इजरायली र विदेशी बन्धकलाई रिहा नगरेसम्म गाजामा ‘अस्थायी युद्धविराम’ हुन नसक्ने बताउनुभएको छ ।
स्थायी युद्धविरामले हमासलाई पुनः सङ्गठित हुन र पुनः हतियार तथा युद्ध बन्दोबस्तीका सामान आपूर्ति गर्न अनुमति दिने भन्दै इजरायल र संयुक्त राज्य अमेरिका दुवैले यसअघि पूर्ण युद्धविरामलाई अस्वीकार गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडनले ‘स्थानीय आवश्यकता अनुसार माग गरिएको अस्थायी’ युद्ध विरामको समर्थन गर्नुभएको छ ।
यसैबीच, इजरायलले जारी लडाइँ र हवाई आक्रमणका बाबजुद हजारौं प्यालेस्टिनी कामदारलाई गाजामा फिर्ता पठाउन सुरु गरेको छ । इजरायली सेनाले गाजावासीलाई गाजा शहरबाट दक्षिणतर्फ जान आग्रह गरेको छ, तर हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले महिला र बालबालिकासहित भागेका १४ जना प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले यसअघि सर्वसाधारणलाई दक्षिणतर्फ यात्रा गर्न आग्रह गर्दै आएको गाजाको तटीय सडकमा हवाई आक्रमण भएको छ । (रासस/एएफपी)






