कर्णालीमा ४ महिने बालकसहित थप १६ जनामा कोरोना संक्रमण

  जेठ २१, २०७७

सुर्खेत, जेठ २१ : कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै प्रदेशका कोरोना सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । कर्णली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले बुधबार थप नयाँ १६ जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षण दैलेख, सल्यान र कालिकोटका सङ्क्रमित देखिएका छन् । सुर्खेतमा परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको र जुम्लामा गरिएको परीक्षणमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

स्वास्थ्य सवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा गरिएको परीक्षणमा सल्यानकाे कुमाख गाउँपालिकाका दुई जना र देलेख नौमुले गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

यस्तै, जुम्लामा गरिएकाे परीक्षणमा कालिकोटको महाबै गाउँपालिकाका चार महिने शिशुसहित तीन जना र तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, पलाँता गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका एक/एक जना र दैलेखको नारायण नगरपालिकाका पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म तीन जनाबाहेक अन्य सङ्क्रमित भारतबाट आएका हुन् ।

सुर्खेतमा एक जना स्थानीय युवामा कोरोना पुष्टि भएको छ भने जुम्लाका दुई जना सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण दैलेखका एक जना युवाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया