संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको केन्द्र बनाऔँ : सञ्चारमन्त्री

  असोज २८, २०८०

तुलसिपुर, २८ असोज : सञ्चार सूचना तथा प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शनको  केन्द्रबिन्दुका रूपमा विकास गर्न आग्रह गर्नुभएको छ । 

बिजौरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले यही क्षेत्रमै संस्कृत विश्वविद्यालय भएकाले विश्वविद्यालय सभाबाटै पूर्वीय दर्शनको केन्द्रबिन्दु बनाउन विस्तृत विवरण प्रतिवेदन बनाउन निर्णय भए पनि अझै कार्यान्वयनमा आउन नसकेकाले यस क्षेत्रको तर्फबाट काम अघि बढाउन दबाब सिर्जना गर्न आग्रह गर्नुभयो ।  

मन्त्री शर्माले सातवटै प्रदेशमा सूचना प्रविधि सीप विकास तालिम केन्द्र स्थापना गर्न थालिएको बताउनुभयो । मन्त्री शर्माले सूचना प्रविधिको सीप सिक्नकै लागि युवाहरू विदेश जान थालेपछि त्यसलाई रोक्न र स्वदेशमै सीपको विकास गर्न  सूचना प्रविधि तालिम केन्द्र स्थापना गर्न थालिएको बताउनुभयो । 

उहाँले मन्त्रालयबाट सातवटै प्रदेश मुकाम रहेका जिल्लामा सुरुवातको चरणमा पूर्ण सञ्चारयुक्त जिल्लाका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘नेपाल टेलिकमबाट प्रदेश मुकाम रहेका सातवटा जिल्ला र सातवटै प्रदेशका थप एक गरी १४ वटा जिल्लालाई सुरुवातिचरणमा पूर्ण सञ्चारयुक्त जिल्ला बनाउन कामको सुरुवात गरेका छौँ ।’ 

बिजौरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रेखा शर्माले दाङ जिल्लालाई पूर्ण विद्युतीकरणको जिल्लाका रूपमा विकास गर्न थालिएको बताउनुभयो । सञ्चारमन्त्री शर्माले वर्तमान सरकार विगतका सरकारले  बजेटको सुनिश्चितता नगरी हचुवाका भरमा गरिएका योजनाका कारण अरबौँ रकमको दायित्वमै रहेकाले थप सिर्जनशील र नयाँ योजनाका काम सुरु गर्न नसकिएको बताउनुभयो । 

उहाँले राजनीतिक अस्थिरताकै कारण देशमा आर्थिक दायित्व थपिने समस्या रहेको बताउनुभयो । यस क्षेत्रबाट निर्वाचित हुनुभएका शर्माले बिजौरी हुँदै दहवन जोड्ने सडक खण्डको ग्वारखोला क्षेत्रमा पुल निर्माणका लागि पहल थाल्ने बताउनुभयो । मन्त्री शर्माले विगतदेखि नै निर्माण सुरु गरिएको घोराही–हापुर–रक्षाचौर सडक खण्डमा परेको बजेट कार्यान्वयन विषयमा सामान्य त्रुटिका कारण समस्या देखिएकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई जानकारी गराइएको बताउनुभयो ।  

कार्यक्रममा बिजौरी उवासंघका अध्यक्ष रेश्मीराज खड्काले ऐतिहासिक बजारक्षेत्र भएकाले यस क्षेत्रको बजार, शिक्षा, स्वास्थ्य क्षेत्रमा टेवा गर्ने बिजौरी दहवन सडक खण्डको रुन्टीगढी वडा ८ र ६ रानीबास क्षेत्रमा बेलिब्रिज वा पुल निर्माणका लागि पहल थाल्नका लागि  आग्रह गर्नुभयो । 

उहाँले दाङको उत्तरी क्षेत्रको फड्को मार्ने घोराही–हापुर–रक्षाचौर सडक खण्डको बजेट साढे १४ करोड अन्यत्र स्थानान्तरण हुन थालेको भन्दै साबिककै योजना  कार्यान्वयन गर्न माग गर्नुभएको गोरखापत्र अनलाइनमा समाचार छ ।

तपाईको प्रतिक्रिया