काठमाडौँ, जेठ १८ : बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बालिकाको मृत्यु काेराेना भाइरसका कारणले भएको जानकारी दिनुभयो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयाे । बुढीगङ्गा नगरपालिका–१ घर भएकी उनी आमाबुबासँगै आठ दिनअघि भारतबाट नेपाल प्रवेश गरेकी थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको थियो ।
मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी थिइन् । उनको सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिम प्रदेशमा कोरानाबाट ज्यान गएको यो पहिलो घटना हो ।
मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिं कार्कीले मृतक बालिका र आमामा कोरोना पोजिटिभ देखिएको पुष्टि गरे । थप विवरण चार बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए । बाबुको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । सँगै भारतबाट आएका मृतक बालिकाका बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । बालिकालाई संक्रमणको शंका लागेपछि उनका आमा र बुवासहित जेठ १५ गते आइसोलेसनमा राखिएको थियो ।
स्थानीय बूढीगंगा नगरपालिका-१ को धुरालसैन माध्यमिक विद्याललयमा रहको क्वारेन्टाइनमा बालिकाको अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा ल्याइएको थियो । बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि परिवार भारतबाट फर्किएको हो ।






