सुर्खेत, जेठ १८ : नेपालमा कोरोना पुष्टि भएको दुई महिनासम्म कर्णाली प्रदेश कोरोनारहित थियो । जव जेठ ३ गतेदेखि भारतमा रहेका नेपालीहरु आउन थाले, त्यसपछि कर्णालीमा कोरोना पुष्टि हुने क्रम बढ्दै गएको छ ।
जेठ ४ गते कर्णालीमै पहिलो पटक दैलेख आठवीस नगरपालिकाका एक युवकलाई कोरोना पुष्टि भयो । त्यसपछि धमाधम कोरोना सङ्क्रमितहरुको संख्या बढिरहेको छ । आइतवार विहानसम्म कर्णालीमा १२३ जनामा कोरोना पुष्टि भएको छ । १० जिल्ला रहेको कर्णालीका पाँच जिल्ला दैलेख, सुर्खेत, सल्यान, कालीकोट र मुगुमा कोरोना देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा, जाजरकोट र रुकुमपश्चिममा आइतवारसम्म कोरोना सङ्क्रमण देखिएको छैन ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सवैभन्दा धेरै दैलेखमा ४८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले दैलेखपछि सुर्खेतमा २९ जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जना र मुगुमा १ मा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यस्तै कर्णालीमा परीक्षण गरिएका अन्य दुई जना बझाङ र बाजुराका एक÷एकमा कोरोना पुष्टि भएको छन् ।
सल्यानमा २५ जना र कालीकोटमा १८ जनामा एकैपटक कोरोना पुष्टि भएको हो । कोरोना सङ्क्रमण देखिएका सवै जेठको पहिलो साता भारतदेखि आएका हुन् । यसैगरी कर्णालीमा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । १० दिन अगाडि भारतदेखि आएका दैलेखको दुल्लु नगरपालिका ११ को क्वारेन्टिनमा बस्नुभएका ३५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
सामाजिक विकास मन्त्रालयकाका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले उक्त पुरुषको मृत्युपश्चात स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा पोजेटिभ आएको बताउनुभयो । कोरोनाबाट मृत्यु हुने दैलेखका पुरुष नेपालका सातौं र कर्णालीका पहिलो हुनुभएको छ ।
कर्णालीका पाँच वटा जिल्लामा कोरोना सङ्क्रमित देखापछि अन्य जिल्लामा पनि त्रास बढेको छ । भारतबाट आउनेहरु प्रायः सवै जिल्लाका भएकोले अन्य जिल्लामा पनि कोरोना सङ्क्रमण देखिन सक्ने सम्भावना बढेको छ । कर्णालीको सीमा नाका सुर्खेतको बबईमा जेठको पहिलोसाता यता भारतबाट आउनेको संख्या १६ हजार नाघेको छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीमा २५ हजार बढी भारतबाट आउन सक्ने अनुमान गरेको छ । उनीहरु सवैको परीक्षण हुन सकेको छैन । चिकित्सकलगायत सवै निकायले परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् । विरामीहरुको संख्या बढ्दै गएपछि आइसोलनलगायतको समस्या हुने देखिन्छ । प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतको प्रदेश अस्पताल र रुकुम पश्चिमको अस्पताललाई कोरोनाको विशिष्टकृत अस्पताल घोषणा गरेको छ ।






