सुदूरपश्चिमको ३ नाकाबाट शनिबार ८ हजार नेपाली भित्रिए

  जेठ १७, २०७७

लम्की, जेठ १७ : सुदूरपश्चि प्रदेशका विभिन्न नाकाबाट नेपालीहरु नेपाल भित्रिने क्रममा शनिबार समेत आठ हजार भन्दा बढि नेपाली भित्रिएका छन् ।

भारतका विभिन्न शहरबाट आएका उनीहरु पानीमा भिज्दै शनिबार नेपाल प्रवेश गरेका हुन् । कञ्चनपुर जिल्ला प्रशासनका अनुसार शनिबार तीनहजार ७५२ नेपाली गड्डा चौकी नाका भएर नेपाल भित्रिएका छन् ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव निरीक्षक दक्ष बस्नेतले गौरीफन्टा नाकाबाट चारहजार २०७ नेपाली भित्रिएको बताउनुभयो ।

बैतडीको झुलाघाटबाट समेत साझँ ६ बजेसम्म १८१ जना नेपाल भित्रिएका छन् । नेपाल भित्रिएका उनीहरुलाई स्थानीयले पानीबाट बच्न पालको व्यवस्था गर्नुकासाथै खाना पानी दिएर सहयोग गरेका थिए ।

योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर नेपाल भित्रिने नेपालीको संख्या करिब ५६ हजार पुगेको छ । लक डाउन लागू भएसँगै बन्द भएका सीमा नाकामा अल्पत्र परेका ठूलो नेपालीको संख्या आउन थालेपछि खोलिएको थियो ।

जेठ २ गतेबाट खुल्ला गरिएको नाकामा दैनिक नेपाली भित्रिने क्रम बढ्दै गएको छ । सीमा प्रवेश सँगै उनीहरुलाई विभिन्न जिल्लाका विभिन्न स्थानीय तहले गाडी पठाई उद्धार समेत गरेको छ ।

सीमामा परीक्षण नगरी उनीहरुलाई सम्बन्धित जिल्लाका क्वारेन्टाईनमा राख्दा ब्यवस्थापनमा समस्या आउनुको साथै जोखिम समेत बढेको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया