स्वास्थ्य परीक्षण बिना भित्रिए झुलाघाट नाकाबाट एक हजार नेपाली

  जेठ १७, २०७७

बैतडी, जेठ १६ : कोरोना चेक जाँच गर्ने उपकरण र जनशक्ति नहुँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्तसहित झुलाघाट नाकाबाट झरीमा रुझ्दै एकहजार भन्दा बढी नेपाली स्वदेश भित्रिएका छन् ।

सीमा नाकामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बिहीबारदेखि शनिबारसम्म तीन दिन झुलाघाट पुल खुला गरिएको थियो ।

झुलाघाटबाट बिहीबार ५७६, शुक्रबार २८२ र शनिबार ६ बजेसम्म १८१ जना स्वदेश भित्रिएको र दुई गाडी अझै थप आईरहेकोले गेट बन्द नभएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले झुलाघाट नाकासँग जोडिएको बैतडी अस्पतालमा कोरोना चेक गर्ने ल्याब र भेन्टिलेटर राख्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

स्वास्थ्य परीक्षण नगरी स्देश भित्रिनेमा पुरुष मात्र छैनन्, रोजगारी खोज्न भारत पसेका महिलासँगै स–साना बालबालिका समेत रहेका छन् । घर पुग्ने चिन्ताले नाकामा आईपुगेका नेपाली भोक प्यास र झरीको पर्वाह नगरी घण्टौंसम्म लाईनमा बस्दै स्वदेश फर्किएका छन् ।

झुलाघाट नाकाबाट भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्ने जनशक्ति, कोरोना चेकजाँच गर्ने किट र ल्याब नहुँदा नाम, ठेगाना र ज्वरो आए नआएको सोधपुछ गरेर स्थानीय तहको जिम्मा लगाउनु पर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

लक डाउनका कारण रोगले भन्दा भोकले मर्न लागेको भन्दै भारतका विभिन्न सहरबाट हिँडेर झुलाघाट पुगेका नेपालीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा स्वदेश फर्काइएको छ ।

सीमा नाकामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारले आदेश दिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा झुलाघाटबाट नेपालीहरु स्वदेश फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो ।

स्वास्थ्य परीक्षण गर्ने किट र जनशक्ति नहुँदा १४ दिन क्वारेन्टाइनमा बस्ने गरी सम्बन्धित जिल्ला र स्थानीय तहको जिम्मा लगाईएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया