स्पेनी रात्रि क्लब आगलागीमा मृत्यु हुनेको संख्या १३ पुग्यो

  असोज १४, २०८०

म्याड्रिड, १४ असोज : दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मर्सिया शहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो ।

स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ४५ वर्षका दुई पुरुषको आगलागीमा धुवाँबाट भएको असर कम गर्न उपचार भइरहेको छ ।
स्थानीय समयअनुसार बिहान ६:०० बजे नाइट क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको र छतको केही भाग जलेर नष्ट भएको मर्सियाका मेयर जोसे बालेस्टाले बताउनुभएको छ । “आगलागीबाट हामीले ठूलो मानवीय क्षति व्यहोरेका छौँ,” बालेस्टाले भन्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सभा केन्द्रले मृतकहरूको सम्झनास्वरूप तीन दिनको शोकको घोषणा गरेको छ र पीडितका परिवारका सदस्यहरूले स्थानीय खेलकुद हलमा स्थापित परामर्श र मनोवैज्ञानिक केन्द्रमा सहयोग प्राप्त गर्न सक्नेछन् ।”

स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया