रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

  जेठ १६, २०७७

काठमाडौं, जेठ १६ : रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे ।

प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए । शुक्रबार भेटिएका सबै संक्रमित भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको अनलाइन खबरमा उल्लेख छ ।

प्रजिअ घिमिरेले शुक्रबार संक्रमण देखिएका सबै हालै भारतबाट फर्किएका व्यक्ति भएको र उनीहरु क्वारेन्टाइनमा बसिरहेको बताए । उनले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आफूले पाएको पनि बताए ।

रौतहटका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा भारतबाट फर्किएका झण्डै ४ हजार ५ सय जना छन् । क्वारेन्टाइन बनाउने विषयमा नै रौतहटमा बिहीबार र शुक्रबार प्रशासनसँग स्थानीयको झडपसमेत भएका थिए ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले पनि काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण फेला परेको बताएको छ ।

तपाईको प्रतिक्रिया