भाषा, संस्कृति, इतिहासबारे विद्यार्थीलाई जानकारी गराउन पाठयपुस्तक

  असोज १३, २०८०

कञ्चनपुर, १३ असोज : कृष्णपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर ‘हाम्रो कृष्णपुर’ नामक पाठयपुस्तक तयार गरी सामुदायिक विद्यालयमा पठनपाठनको कार्य सुरु गरेको छ । पाठयपुस्तक कक्षा १ देखि ८ सम्मका विद्यार्थीको पठनपाठनका लागि तयार गरिएको हो । पाठयपुस्तकमा नगरपालिका क्षेत्रभित्रका ऐतिहासिक क्षेत्र, पर्यटकीय क्षेत्र, जातजाति, भाषा, धर्म, रीतिरिवाज, संस्कृति, खेलकुद, कृषि, नदीनाला, राजनीतिलगायत समेटेर तयार गरिएको छ ।

नगरप्रमुख हेमराज ओझाले स्थानीय विषयवस्तुबारे आधारभूत तहका विद्यार्थीले जानकारी पाउन् भनेर पाठयपुस्तक तयार गरिएको बताउनुभयो । “एक सय पूर्णाङ्कको पाठयपुस्तकलाई नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अनिवार्यरूपमा पठनपाठन गराउने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “कृष्णपुर नगरपालिकाबारे विद्यार्थीले अझ राम्रोसँग जान्न र बुझ्न पाठयपुस्तकले थप टेवा पुग्ने विश्वास लिएका छौँ ।”

शिक्षा युवा तथा खेलकुद शाखा र गैरसरकारी संस्थाहरूको प्रयासमा पाठयपुस्तक तयार गरिएको जानकारी दिनुहुँदै उहाँले आगामी दिनमा पाठयपुस्तकलाई परिस्कृत गरेर लैजाने बताउनुभयो ।

नेपालको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं धार्मिक विविधताका कारण केन्द्र तहबाट निर्माण गरिने पाठ्यक्रमले समग्र राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने तथा स्थानीय आवश्यकता नसमेटिने कुरा महसुस गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले आधारभूत तह (कक्षा १–८) मा स्थानीय विषय अध्यापन गराउनुपर्ने प्रावधान राखेको छ ।

त्यसै प्रावधानअनुसार नगरपालिकाले स्थानीय विज्ञ, अभिभावक, शिक्षक, विद्यार्थीको सहयोगमा स्थानीय विषयको पाठयपुस्तक तयार गरेको बताइएको छ । शिक्षाका राष्ट्रिय उद्देश्यका साथै कृष्णपुरका आवश्यकता परिपूर्ति गर्ने खालका विषयवस्तु छनोट गरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, राष्ट्रिय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले निर्दिष्ट गरेको ढाँचामा यो पाठयपुस्तक तयार गरिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोकटीले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको भूगोल, इतिहास, धार्मिक र प्राकृतिक सम्पदा तथा तिनको सदुपयोग, सांस्कृतिक र सामाजिक विविधता, परम्परागत तथा प्रचलित स्थानीय सीप र कला, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, स्थानीय कृषि, पर्यटन आदि पक्षलाई समेटेर पाठयपुस्तक तयार गरिएको छ । विद्यार्थीलाई यस नगरको विविध पक्षका बारेमा परिचित गराई तिनीहरूको संरक्षण, संवर्द्धन तथा विकास गर्नमा टेवा पु¥याउने आशा गरिएको छ ।

पाठयपुस्तक निर्माणका क्रममा नगरपालिका क्षेत्रका शिक्षाविद्, पाठ्यक्रमविद्, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, नगर शिक्षा समिति, स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक एवं सरोकारवालासँग सल्लाह र सुझाव लिइएको उहाँको भनाइ छ । यसअघि गत वर्ष नै शुक्लाफाँटा नगरपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठयक्रम तयारी कक्षा १ देखि ८ सम्म लागू गरेको थियो । कृष्णपुर नगरपालिको स्थानीय पाठक्रम तयार गरी लागू गर्ने दोस्रो नगरपालिका भएको छ ।

तपाईको प्रतिक्रिया