नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

  असोज ०८, २०८०

बेइजिङ, ८ असोज : नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्तापछि १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

द्विपक्षीय वार्ताको क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले चीन–नेपाल सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्री प्रचण्डको विशेष योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्ड र  चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी रहेको टिप्पणी गर्नुभयो ।

रणनीतिक साझेदारीको सहकार्यसहित नेपाल चीनसम्बन्धमा राष्ट्रपति सी को २०१९ मा भएको नेपाल भ्रमणदेखि नयाँ आयाम एवम् उचाइ थपिएको बताउनुहुँदै नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर रहेको भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल अहिले सामाजिक एवम् आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य छिटो टुङ्गोमा पुर्‍याउन नेपालले काम गरिरहेको बताउनुभयो ।

द्विपक्षीय वार्ता अघि प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ चिनियाँ जनमुक्ति सेनाले सैनिक सलामी, गार्ड अफ अनर दिइएको थियो ।

यसअघि चीनको राष्ट्रिय काग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेचिसँग पनि प्रधामन्त्री प्रचण्डले भेट गर्नुभएको थियो ।

अध्यक्ष झाओका अनुसार चीनले प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई विशेष महत्त्व दिएको छ । चिनियाँ कांग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर रहेको उहाँले बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया