काठमाडौं, ५ असोज : नेपाली कांग्रेसले संसदमा दर्ता भएको शिक्षा विधेयक संसदीय प्रक्रियाबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिबद्धता जाहेर गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा शिक्षक आन्दोलनको विषयमा गम्भिर ध्यान गएको भन्नुहुँदै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता एवम् संवादबाट यथाशिघ्र समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।
कांग्रेसले शिक्षक आन्दोलनको समस्या समाधान हुनुपर्ने, पठन–पाठन सुचारु हुने वातावरण निर्माण गर्न अपिल गरेको छ। उहाँले विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवम् विद्यालय कर्मचारीको वर्षौदेखिका समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
अघिल्लो ऐन र कानुनी व्यवस्थाका तुलनामा प्रस्तावित विधेयकले महत्त्वपूर्ण विषय समेटेको भए पनि कतिपय सन्दर्भमा संविधानको मर्मलाई पूर्णरुपमा आत्मसात् गर्न नसकेको कांग्रेसले जनाएको छ ।






