कोशी अस्पतालमा संक्रमित बढ्दै गएपछि विरामीको वर्गीकरण गरिदै

  जेठ १५, २०७७

विराटनगर, जेठ १५ : कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमण (कोभिड–१९) पुष्टिपछि उपचारतः ३० जना नागरिक निको भएर घर फर्किसकेका छन् । अस्पतालमा गत बैशाख ५ गते यता भर्ना गरिएका ६१ जनामध्ये डिस्चार्ज हुनेको संख्या ३० जना पुगेको हो ।

संक्रमणपछि अस्पताल भर्ना र अस्पतालले डिस्चार्ज गर्दासम्मको अवधीमा कोरोना भाईरस (कोभिड–१९) को कुनैपनि लक्षण देखा नपरेका संक्रमित अस्पतालको बसाईपछि घर फर्कदै आएका हुन् । कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राका अनुसार अहिलेसम्म डिस्चार्ज ३० जना र बाँकी उपचारतः ३१ गरि ६१ जनानै बिना लक्षणका संक्रमित छन् । अस्पतालमा रहँदाको लामो अवधीसम्म पनि कुनै लक्षण देखिएको छैन, मेसु मिश्राले भन्नुभयो–तर ल्याब परीक्षणमा भने संक्रमण दोहोरिने गरेको छ ।

प्रदेश १ का विभिन्न जिल्लाबाट विराटनगर कोशिको उपचार केन्द्र बाहेक धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा हालसम्म ४२ जना संक्रमित भर्ना गरिएको छ । प्रदेश १ मा बुधबारसम्म संक्रमित देखिएका १०३ मध्ये ३० जना डिस्चार्ज भईसकेका हुन् ।
तर, कोरोना संक्रमणको दर र स्वरुपमा देखिदैं गएको परिवर्तनका लागि प्रदेश १ सरकारले भने संक्रमितको बर्गिकरण गर्ने योजना अगाडि सारेको छ । संक्रमणपछि लक्षण नदेखिएका संक्रमितलाई सोझै अस्पतालमा ल्याएर भर्ना गर्ने अहिलेसम्मको अभ्यासमा परिवर्तन गर्दै आइसोलेशन केन्द्र र उपचार केन्द्रमा बिभाजन गरिने भएको हो ।

सामाजिक विकास मन्त्र घिमिरेका अनुसार कोरोना संक्रमण देखिएका तर लक्षण नदेखिएका त्यस्ता विरामीलाई आइसोलेशन केन्द्रमा राखेर चिकित्सकीय निगरानी गरिने छ । संक्रमितमध्ये लक्षण देखिएका र संभावित जोखिम मानिएकाहरुका हकमा अस्पतालमा भर्ना गरिने छ ।
संक्रमितको इतिहास (हिस्ट्री) समेत अध्ययन गरेर स्वास्थ्य अवस्था यकिन गरेपछि मात्रै अस्पतालमा भर्ना गर्ने योजना बनाएका छौं, सामाजिक विकास मन्त्री घिमिरेले भन्नुभयो–संक्रमित मात्रै राख्नका लागि छुट्टै आइएसोलेन केन्द्र तयार पारिरहेका छौं ।

जटिल स्वास्थ्य समस्या भई उपचार गराईसकेकामा संक्रमण देखिए, बृद्धबृद्धा, बालबालिका र गर्भवती महिलालाई अस्पतालमा भर्ना गरिने र संक्रमित भए पनि सामान्य अवस्था देखिएकाहरुलाई आईसोलेशन केन्द्रमा भर्ना गरिने भएको हो । मन्त्री घिमिरेले एउटै स्वरुपको उपचार विधि अपनाउने हो भने आगामी दिनमा जटिल केसका विरामी ओझेलमा पर्ने र सामान्य केसका विरामीले अस्पताल ओगट्ने देखिएको बताउनुभयो । आईसोलेशन केन्द्रमा समेत स्वास्थ्यकर्मी तथा चिकित्सकीय निगरानी सेवासहित सुविधा हुनेछ । कोशी अस्पताल र विपीको कोभिड–१९ उपचार केन्द्रमा जटिल र अन्य तीनस्थानमा सामान्यस्तरका संक्रमित राखेर उपचार विधी अपनाईने भएको छ ।

प्रदेश सरकारले संक्रमितको बर्गिकरण गरेर राख्ने योजनासहित ४५० शैयाकोे आईसोलेसन उपचार केन्द्र निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । संक्रमितको संख्या बृद्धिसँगै मानव स्वास्थ्यमा देखिन थालेको जटिलतालाई ख्यालमा राख्दै सुविधा सम्पन्न अस्पताललाई विशेष तयारीमा राखेर सुविधासम्पन्न आईसोलेशन केन्द्रबाट प्रारम्भिक चरणको भर्ना प्रक्रिया थालिने भएको हो ।

मन्त्री घिमिरेका अनुसार विराटनगरको कोशी र धरानको विपीमा उपचार र झापा भद्रपुरको मेची, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ र सुनसरीको बराहक्षेत्रमा आइसोलेशन केन्द्र बनाईने भएको हो । झापाको दमक र नेपाली सेनाको पुर्वी पृतना इटहरीमा आइसोलेशनस्तरको क्वारेन्टाइन समेत तयारी अवस्थामा राखिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरुबीच मंगलबार साँझ भएको अनलाईन संवादमा समेत मन्त्री घिमिरेले प्रदेश सरकारको योजना बारे जानकारी गराएको बताउनुभयो । यसका लागि सरकारले आवश्यक मार्गदर्शन र निर्देशिका समेत तयार गरिसकेको छ । त्यसबाहेक विपीका डा.संजीव शर्माको संयोजकत्वमा गठित कार्यदलले तत्काल परीक्षण, संक्रमितको बर्गिकरण र अस्पतालको मापदण्डको विषयमा अध्ययन गरिरहेको छ । त्यो कार्यदलले तीनदिन भित्रमा प्रतिवेदन बुझाउने अपेक्षा राखेका छौं, मन्त्री घिमिरेले भन्नुभयो–त्यसपछि हामीले उपचारको प्रक्रियागत प्रणालीमा सुधार गर्नेछौं ।

तपाईको प्रतिक्रिया