वासिङ्टन, ३ असोज : अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास गरिरहेका बेला युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पु-याउने उद्देश्यले बुधबार नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम’ को शुभारम्भ गरिएको बताउनुभएको छ ।
“आज, हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यकर्ताहरूको अर्को पुस्तालाई परिचालन गर्दैछौं,” उहाँले एक्स (ट्वीटर) मा लेख्नुभएको छ । यो योजनाले २० हजारभन्दा बढी युवाहरूलाई उनीहरूको तलबी प्रशिक्षण पूरा गरेपछि ‘राम्रो तलब दिने काम’ प्राप्त गर्न प्रशिक्षित गर्ने राष्ट्रपति बाइडेनले बताउनुभयो ।
राष्ट्रपति बाइडेनले विशेष गरी आफुले हस्ताक्षर गरेको मुद्रास्फीति न्यूनीकरण ऐनमार्फत् सन् २०२४ मा पुनः निर्वाचनका लागि आफ्नो प्रयासको मुख्य मुद्दा अर्थतन्त्रलाई बनाउनुभएको छ ।
महत्वाकाङ्क्षी जलवायु कानूनको उद्देश्य स्वच्छ ऊर्जामा अमेरिकी सङ्क्रमणलाई गति दिनु, अमेरिकी उद्योगको पुनर्निर्माण गर्नु र सामाजिक न्यायलाई बढावा दिनु हो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका बाइडेनले जलवायु सङ्कटले सम्पूर्ण मानवताका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी दिनुभएको छ ।
अमेरिकी जलवायु अभियानकर्मीहरू, जसले लामो समयदेखि पहलको लागि आह्वान गर्दै आएका थिए, उनीहरूले यसलाई मिश्रित स्वागत गरे । एभरग्रीन नामक एउटा समूहले यसलाई ‘बढ्दो स्वच्छ ऊर्जा अर्थव्यवस्थामा युवाहरूका लागि राम्रो रोजगारी प्रदान गर्ने दिशामा उल्लेख्य कदम’ भनेको छ ।
तर गत आइतबार न्युयोर्कमा जीवाश्म ईन्धन विरोधी मार्चको आयोजक केनु अर्पेल्स–जोसियाहले भने यो ‘पर्याप्त छैन’ भन्नुभएको थियो । जलवायु पहरेदार ‘क्लाइमेट कोर’ अर्थात् ‘क्लाइमेट कोर’ नाम अमेरिकी ‘पिस कोर अर्थात् ‘पिस कर्प’ को प्रतिध्वनि हो जसले दशकौंदेखि विश्वभर स्वयंसेवकहरू पठाउँदै आएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार सन् १९३० को दशकमा अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डी रुजवेल्टले अमेरिकालाई महामन्दीबाट बाहिर निकाल्ने नयाँ सम्झौता (न्यू डिल ) को समयमा बनाएको योजनालाई अझ नजिकबाट हेरिएको थियो ।
महामन्दीका समय अमेरिकी नागरिकहरूको रोजगारी संरक्षण गर्ने उद्देश्यले ‘सिभिलियन कन्जरभेसन कोर’ को स्थापना गरिएको थियो । यसले करिब एक लाख बेरोजगार युवाहरूको एक चौथाई लाई पुनः वनीकरण र बाँध–निर्माणजस्ता परियोजनाहरूको विशाल कार्यक्रममा काम गर्नको लागी तयार गरिएको थियो ।






