अपदस्थ ग्याबोनी नेताका छोराविरूद्ध भ्रष्टाचारको अभियोग

  असोज ०३, २०८०

लिब्रेभिल, ग्याबोन, ३ असोज : अली बोन्गो ओन्डिम्बाका छोरा र ग्याबोनका अपदस्थ राष्ट्रपतिका केही सहयोगीलाई भ्रष्टाचारको अभियोग लगाएर हिरासतमा राखिएको सरकारी अभियोजकले बुधबार एएफपीलाई बताउनुभएको छ ।

बोन्गोका जेठा छोरा नुरेदिन बोन्गो भ्यालेन्टिन र पूर्व राष्ट्रपतिका प्रवक्ता जेस्ये एला एकोघाका साथै अपदस्थ नेताका नजिकका अन्य चार जनालाई मङ्गलबार ‘अभियोग लगाइएको छ र अस्थायी हिरासतमा राखिएको छ’, लिब्रेभिलका अभियोजक आन्द्रे प्याट्रिक रोपोनटले भन्नुभयो ।

सन् २००९ देखि तेलको धनी मध्य अफ्रिकी मुलुक ग्याबोनमा शासन गर्दै आएका ६४ वर्षीय बोन्गोलाई गत अगष्ट ३० मा सैन्य नेताहरूले सत्ताच्युत गरेका थिए ।

यो परिणामलाई विपक्षी र सैन्य ‘कू’ मा सम्लग्न नेताहरूले बोन्गो ओन्डिम्बाको शासन शैलीलाई राष्ट्रप्रतिको धोखाधडीको संज्ञा दिएका थिए । उनीहरूले बोन्गो ओन्डिम्बाको शासनलाई व्यापक भ्रष्टाचार र खराब शासनको आरोप पनि लगाएका थिए ।

‘कू’ भएको दिन सैनिकले बोन्गोका एक छोरा र पाँच जना वरिष्ठ मन्त्रीपरिषद्का सदस्यलाई पक्राउ गरेका थिए । राष्ट्रिय टिभीले घरबाट जफत गरिएको नगदले भरिएको सुटकेसअगाडि पक्राउ परेकाहरूको ‘रोलिङ’ तस्वीरहरू देखाएको थियो ।

‘कू’ पछि बोन्गोकी पत्नी सिल्भिया बोन्गो भ्यालेन्टिनलाई राजधानी लिब्रेभिलमा ‘उहाँको सुरक्षाका लागि’ नजरबन्दमा राखिएको बताइएको थियो ।

तपाईको प्रतिक्रिया