प्रदेश २ मा थपिए ७६ जना कोरोना संक्रमित

  जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा काेराेना पुष्टि भएकाे हाे ।

प्रदेश २ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी विजय झाले बिहीबार बिहान थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएपछि प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या चार सय पुगेको जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको रिपोर्ट बिहीबार बिहान आएको हो ।

पछिल्लो परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तैगरी पछिल्लो परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमा महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा सात जना, सिरहामाछ जना र रौतहटमा तीन जना रहेका छन् ।

अहिले सम्ममा प्रदेश २ का आठै जिल्लामा सङ्क्रमण देखिएको छ । हालसम्म प्रदेश २ मा कोरोना सङ्क्रमणको कारण एक जनाको मृत्यु भएको छ, ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

उपचारपछि निको भएर घर फर्कनेमा पर्साका सर्वाधिक ८८ जना, रौतहटका तीन जना, बाराका २ जना, सर्लाहीका २ जना र धनुषाका २ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया