काठमाडौँ, ३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताउनुभएको छ ।
सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै लगेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानून निर्माणदेखि भएका कानूनको परिपालनामार्फत जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने अभियानको थालनी गरिएको बताउनुभयो । “प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो”, उहाँले भन्नुभयो ।
संविधानसभाबाट संविधान निर्माण हुनु नेपालमा ऐतिहासिक परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दशवर्षे जनयुद्ध, २०६२-०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको बताउनुभयो । “आफैँबाट निर्वाचित प्रतिनिधिबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको सात दशक लामो चाहना यसै संविधानमार्फत पूरा भएको छ”, उहाँले भन्नुभएको छ, “संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकार पनि सुनिश्चित गरेको छ ।”
संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको उहाँको भनाइ छ ।
राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित आदिवासी जनजातिलगायत विभिन्न समुदायका सङ्घर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्नुभएको छ ।
उहाँले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सहिदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा सहिदले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गर्नुभएको राससले जनाएको छ ।






