लुम्बिनी, २ असोज : नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान निर्माण हुन नदिने षड्यन्त्रलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले रोकेको बताउनुभएको छ ।
उहाँले संविधान बन्ने भयो भनेपछि विभिन्न शक्ति केन्द्र यसलाई रोक्ने षड्यन्त्रमा लागेको र त्यस्ता शक्ति केन्द्रको दबावलाई नेम्वाङले रोक्न सफल भएकाले मुलुकले नयाँ संविधान पाएको बताउनुभयो ।
एमाले लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उपाध्यक्ष ज्ञवालीले संविधानसभाका अध्यक्ष नेम्वाङलाई मुलुकमाथि गम्भीर षड्यन्त्र हुँदैछ भन्ने सूचना पाएकाले त्यसको दबावलाई झेल्दै सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।
“संविधानसभाको चुनाव नै कसरी हुन्छ भन्ने थाहा नभएको अवस्थामा उहाँबाटै राजनीतिक दलले धेरै कुरा थाहा पाएका हुन्”, उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, “ड्राफ्ट भइसकेको संविधान जारी नगर्न दबाव थियो यही थाहा पाएकाले संविधान जारी गर्न उहाँ हतारिनुभएको थियो ।”
नेता ज्ञवालीले नेम्वाङको निधनले आज सिङ्गै देश एक जना व्यक्तिको अभावमा शोकमग्न भएको बताउनुभयो । “उहाँ एमालेको मात्र नभएर सबैको साझा नेता हुनुहुन्थ्यो भन्ने सबैको धारणाले देखाएको छ”, उहाँले भन्नुभयो, “सबैको प्रिय हुनसक्ने मान्छे अपवाद नै हुन्छ ।”
एमालेका सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सबैखाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबावका बाबजुद निकै चलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर अध्यक्ष नेम्वाङले संविधान जारी गर्न सकेको बताउनुभयो । “त्यतिबेला धेरै जटिलता थिए, परिवर्तनलाई संस्थागत गर्ने, जनताको तहमा अधिकार ल्याउने कुरा सामान्य थिएन”, उहाँले भन्नुभयो, “नेपालको संविधान कुन बाटोमा लैजाने भन्ने विषयको समाधान संविधानसभाबाट उहाँकै पहलमा भयो ।”
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हकिकुल्ला खाँले शालीन, अविचलित, धैर्यताका साथ काम गर्नसक्ने व्यक्तिको निधनले देशलाई अपूरणीय क्षति भएको र उहाँको अभाव मुलुकलाई खड्किरहने बताउनुभयो । उहाँले तत्कालीन अवस्थामा संविधान जारी गर्नु चानेचुने अवस्था नभएको बताउँदै जिम्मेवारीपूर्वक काम गरेर दुईपटक नै सो जिम्मा लिएर गाँठो फुकाउन सक्नुभएको बताउनुभयो ।
राप्रपाका महामन्त्री ताहिर अलीले नेपाली राजनीतिका समन्वयकर्ता, सरल र मिठास बोलीका प्रतिमूर्ति, संविधानविद्को निधनले देशलाई क्षति भएको बताउँदै उहाँका स्वभाव हामीले पनि जीवनमा लागू गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित व्यक्तिको असामयिक निधनले नेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका रुपन्देही उपाध्यक्ष टानबहादुर केसीले कम्युनिष्ट आचरणमा रहेका सुवास सरल, निष्कलङ्क भएकैले संविधान निर्माणमा अत्यन्तै ठूलो भूमिका खेल्न सकेको र उहाँको योगदानलाई सधैँभरि स्मरणयोग्य रहने बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य लीला गिरी र दधिराम न्यौपाने, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतले सुवास नेम्वाङका योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।