लाम्पेडुसा, इटाली, ३१ भदौ : इटालीका प्रधानमन्त्रीले भूमध्यसागरीय टापु लाम्पेडुसामा ठूलो सङ्ख्यामा आप्रवासीहरू अवतरण गरेपछि ‘युरोपको भविष्य खतरामा परेको’ चेतावनी दिनुभएको छ ।
उत्तरी अफ्रिकी तटबाट पानीजहाजमा सवार हजारौं आप्रवासीहरू यसै साता इटालीको सबैभन्दा दक्षिणी टापुमा अवतरण गरेका थिए, जसले यूरोपमा आप्रबासी समस्या निम्त्याएको छ । यसले ईयू राष्ट्रहरूबीच जिम्मेवारीको विभाजनको बहसलाई पुनर्जीवित गरेको छ ।
युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगको पत्रकार सम्मेलनमा इटालकिा प्रधानमन्त्री जियोर्जिया मेलोनीले अनियन्त्रित आप्रवासनका चुनौतीहरूको सामना गर्न समूहले मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो ।
मेलोनीले भन्नुभयो, “यूरोपले आफ्नो लागि चाहेको भविष्य यहाँ दाउमा छ, किनकि युरोपको भविष्य प्रमुख चुनौतीहरूको सामना गर्ने यूरोपको क्षमतामा निर्भर गर्दछ ।”
संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार सोमबारदेखि बुधबारको बीचमा १९९ वटा डुङ्गामा करिब आठ हजार ५०० मानिस आएका छन् ।
“अनियमित आप्रवासन एक युरोपेली चुनौती हो र यसको लागि युरोपेली प्रतिक्रियाको आवश्यकता छ,” लेयेनले भन्नुभयो । उहाँले समूहका अन्य सदस्यहरूलाई केही आप्रवासीहरू स्वीकार गर्न आह्वान गर्नुभयो ।
लाम्पेडुसा माइग्रेसन सेन्टर सञ्चालन गर्ने इटालियाली रेडक्रसले आइतबार ४०० जना मात्र क्षमता भए पनि एक हजार ५०० आप्रवासी त्यहाँ रहेको जनाएको छ ।
“सिसिली र मुख्य भूमिमा आप्रवासीहरूको स्थानान्तरणले नयाँ आगमनको प्रवाहलाई कायम राख्न सकेको छैन, यद्यपि थप स्थानान्तरण आइतबार हुने अपेक्षा गरिएको छ,” रेड क्रसले भनेको छ ।
अधिकारीहरूलाई विमानस्थलमा भेट्दा त्यहाँका बासिन्दाहरूले सामूहिक आगमनबाट अप्रसन्न भएर उनीहरूको गाडीहरू रोक्ने धम्की दिएका थिए । जवाफमा मेलोनीले भन्नुभएको थियो, “हामी हरसम्भव प्रयास गरिरहेका छौं ।”
‘डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)’ जस्ता गैरसरकारी संस्थाहरूद्वारा सञ्चालित ठूला जहाजहरू, जसले ११ अपरेसनहरूमा लगभग ५०० आप्रवासीहरूको उद्धार गरेका छन्, इटालीका प्रमुख बन्दरगाहहरूमा जाँदैछन् ।
तर दर्जनौं साना डुङ्गाहरूले लाम्पेडुसासम्म खतरनाक समुद्री पार गर्न जारी राखेका छन्, जहाँ आप्रवासी व्यवस्थापन प्रणाली श्वासप्रश्वासको सङ्घारमा आइपुगेको छ ।
गत जुलाईमा भोन डेर लेयेनले मेलोनीको बलियो समर्थनमा ट्युनिसियासँग सम्झौता गर्नुभएको थियो । सम्झौताकोे उद्देश्य उत्तर अफ्रिकी मुलुक ट्युनिसियाबाट हुने अनियमित आप्रवासनलाई रोक्नु थियो ।
यस वर्ष अहिलेसम्म एक लाख २७ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री तटमा आइपुगेका छन् । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका अनुसार यो वर्ष उत्तर अफ्रिकाबाट इटाली र माल्टामा प्रवेश गर्ने दुई हजारभन्दा बढीको मृत्यु भएको छ ।
ईयूले आप्रवासीको आवागमनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नियममा आमूल परिवर्तन गर्न दबाब दिइरहेको छ । फ्रान्समा अति दक्षिणपन्थी समूहका सदस्यहरूले पेरिसले लाम्पेडुसाबाट इटालीको सीमापारी आउने कुनै पनि आप्रवासीलाई अनुमति दिन नहुने बताएका छन् ।
तर फ्रान्सेली सरकारी स्रोतका अनुसार मेलोनी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच ‘यूरोपेली स्तरमा सहयोग सुदृढ गर्ने’ विषयमा कुराकानी भएको छ ।






