काेशी अञ्चल अस्पतालमा उपचाररत चार जना काेराेनामुक्त

  जेठ १४, २०७७

विराटनगर, जेठ १४ : कोशीको कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट उदयपुरका चारजना संक्रमितले कोरोना परास्त गर्नु भएको छ । त्रियुगा–३ भुल्केका एक पुरुषसहित तीनजना महिला बुधबार निको भएर घर फर्कनु भएको हो ।

अस्पतालबाट डिस्चार्ज हुनेहरुमा मो. अलिजान (५८) पुरुषसहित जुविदा खातुन (३६), माधो खातुन (४०) र सविरण खातुन (६५) हुनुहुन्छ । अस्पताल व्यवस्थापन समितिका संयोजक एवं जिल्ला स्वास्थ्य कार्यालय मोरङ प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उहाँहरुको पछिल्लो लगातार दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि चिकित्सकको सिफारिस बमोजिम डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनु भएकामध्ये ५८ वर्षीय अलिजान र ३६ वर्षीया जुविदा बैशाख ९ गते र ४० वर्षीया माधो र ६५ वर्षीया सविरण खातुन बैशाख २७ गते भर्ना हुनु भएको थियो । कोभिड–१९ अस्पतालबाट बुधबारका ४ सहित ३० जनाले कोरोना परास्त गरेर घर फर्किसक्नु भएको छ ।

अस्पतालमा अझै ३१ जना उपचारतः हुनुहुन्छ । प्रदेश १ मा बुधबारसम्म संक्रमितको संख्या १०३ जना पुगिसकेको छ । धरानमा २५ जना उपचाररतः बाहेक बुधबार झापाको केचनाकवलमा १५ र गौरादहमा २ जना थपिएका हुन् । उनीहरुलाई अस्पताल ल्याउने तयारी भईरहेको छ ।

तपाईको प्रतिक्रिया