वीरगञ्ज, जेठ १४ : नेपाल र भारतमा जारी लकडाउनका कारण स्वदेश आउन नपाई लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टाइनमा रहेका र भारतको बिभिन्न सहरबाट सिमामा आईपुगेका नेपालीहरु बुधबारदेखि स्वदेश फर्किन थालेका छन् ।
भारतको विभिन्न राज्यमा रोजगारी, तीर्थाटनका लागि गएका पर्सा लगायत २५ जिल्लाका करीब ३ सय पचास देखि चार सय नेपाली भारतीय शहर रक्सौलको क्वारेन्टाइनमा रहेका थिए । रक्सौलको हजारीमल विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई वीरगञ्ज नाकाबाट स्वेदश भित्र्याउने कार्य सुरु गरिएको , बुधबार बिहान पहिलो लटमा एक सय एक नेपाली नागरिक स्वेदश फर्किएको र बाँकीलाई पनि फर्काउने तयारी भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।
मुख्य नाकामा सुरक्षाकर्मीले उच्च सर्तकताका साथ स्वेदश फर्किएकाहरुको विवरण लिने, तत्कालै स्वास्थ्यकर्मीले तापक्रम जाँच्ने , नाकामा नै सरसामान र व्यक्तिहरुलाई सेनेटाईज गर्ने र शंकराचार्य गेट नजिकै बनाइएको टेन्टमा राख्ने काम गरिएको छ भने टेन्टमा स्वदेश फर्किएका नेपालीहरुको लागि खाने पानी, बिस्कुट र मास्कको व्यवस्था गरिएको छ ।
नजिकैका जिल्लाका वासिन्दालाई सम्बन्धित प्रशासनको जिम्मा लगाइने र पर्सा जिल्लाका व्यक्तिहरुलाई वीरगञ्जकै क्वारेन्टाइनमा राखिने अनि विस्तारै सम्बन्धित स्थानीय निकायको क्वारेन्टाईनमा पठाउने तथा अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको प्रशासनसंग समन्वय गरी त्यसतर्फ पठाईने पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले बताउनुभयो ।
पश्चिम रुकुमका २३ र दांगका २१ जनालाई सम्बन्धित जिल्लाका अधिकारीसंग समन्वय गरी सवारी साधनको व्यवस्था गरेर आजै सम्बन्धित जिल्लामा पठाइने सूचना अधिकारी समेत रहेका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।
यसअघि गत जेठ ६ मा वीरगञ्जमा रोकिएका २ सय १५ भारतीय नागरिकलाई भारतीय अधिकारीको जिम्मा लगाइएको थियो भने स्थानीय प्रशासनले भारतीय नागरिकलाई स्वदेश फर्काएको भोलिपल्ट रक्सौलको क्वारेन्टाइनमा रहेका २ सय २२ नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्यक्रम रहेको जनाए पनि भारतीय पक्षको आनाकानीका कारण ७ दिनपछि बुधबार मात्र नेपाली नागरिक स्वदेश फर्किएका छन् ।