धनगढी, जेठ १४ : जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले ४८ व्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेको भन्दै ४८ जना व्यापारीलाई कारवाही गरिएको हो ।
प्रशासनले संक्रमण ऐन अनुसार एक सय रुपैयाँ जरिवानादेखि २० दिनसम्मको कैद सजाय तोकेको छ । समान्य लापरवाही गर्ने १३ वटा फर्मले सय रुपैयाँ जरिवाना तिरेका छन् ।
१७ वटाले गम्भीर त्रुटि गरेकाले सञ्चालकलाई १५ दिनको कैद तोकिएको छ भने अति गम्भीर लापरवाही गरेको ठहर गर्दै १८ वटा फर्मका सञ्चालकलाई २० दिन कैद गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।
उनका अनुसार जनस्तरबाट विभिन्न किसिमले ठगिएको र पसलहरुमा तोकिएको सुरक्षा मापदण्डहरु पालना नभएको गुनासो आएपछि कार्यालयले वैशाख २९ देखि ५ गतेसम्म बजार अनुगमन गरिएको थियो ।