पोखरामा राष्ट्रिय चित्रकला प्रदर्शनी

  भदौ २०, २०८०

लेखनाथ, २० भदौ : दिगो शान्ति, पर्यटन र कला क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी नेपालले पोखरामा एकमहिने तेस्रो राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेको छ । देशभरका एक सय ४० जना चित्रकारद्वारा विभिन्न प्रकारका चित्र प्रदर्शनीमा राखिएको हो । उक्त प्रदर्शनीको आज गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभयो ।

उक्त अवसरमा मन्त्री थापाले विश्वशान्तिका पक्षमा कोरिएका यस्ता चित्रले ठूलो महत्त्व राख्ने बताउनुभयो । जसरी अरनीकाले चीनमा आफ्नो चित्रकलामार्फत नाम कमाउनुभयो त्यसरी नै नेपालका चित्रकारले पनि विश्वमा आफ्ना नाम कमाउनसक्ने बताउँदै उहाँले निरन्तरताको प्रयासबाट नै चित्रकारितामा निखरता आउने विश्वास व्यक्त गर्नुभयो ।

देशमा सीपमूलक शिक्षा नभएकै कारण नेपाली युवा रोजगारीका लागि विदेश जानुपरेको उहाँले तर्क गर्नुभयो । मन्त्री थापाले दीगो पर्यटनका लागि आफूले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी जहाजले उडान भर्ने प्रयत्न भइरहेको बताउनुभयो । आफ्नो मन्त्रालयअन्तर्गत निर्माण भएका वन ऐन पनि छिट्टै आउन लागेको भनाइ उहाँले जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले चित्रकै प्रभावले विभिन्न देशमा ठूलाठूला राजनीतिक परिवर्तन आएको बताउँदै एउटै चित्रबाट धेरै कुराको सन्देश दिन सकिने भएकाले संसारभरि चित्रकारिताको महत्त्व झनै बढ्दै गएको बताउनुभयो । एक महिनासम्म चल्ने चित्रकला प्रदर्शनीमा हजारौँको सङ्ख्याले अवलोकन गर्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया