भारती न्यौपाने दाहाल
मानचित्रमा सलबलाएका कैयौँ रेखाहरू 
अन्धकारका काला पर्दासँगै 
 बिस्तारै बिस्तारै हस्ताक्षरमा धमिलिइरहे 
अनि भिडिरहे अस्तित्व बचाउन माटोको 
राहदानी हराएर विदेशी भूमिमा 
अलपत्रिएको नागरिक झैँ
 रेखाहरू सहयोगको अपेक्षामा धाइरहे दूतावास
 कहिले अनुरोध र कहिले जुलुस बोकेर
 चिच्याइरह्यो इतिहास 
कालान्तरदेखि युद्घरत पुर्खाहरूका आवाज बोकेर
 सीमामा उभिएका सिपाहीका बन्दुक झैँ, 
त्यसैले त आज निस्वार्थ हत्केलाहरू 
सलबलाएर औँलाका कापबाट
 बिस्तारै कारेका मानचित्रका रेखाहरू 
गाढा र चम्किला बन्दै गए ।
प्रकाशको खोजीमा 
 अभ्यासरत चहकिला रेखाहरू 
 सल्बलाएर भन्न थाले –
  “हामी जीवित छौँ, हिमाल ! हाम्रो उद्दार गर !”
                    
      




