आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ :

  भदौ १६, २०८०

बुटवल, १६ भदौ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताउनु भएको छ । आगामी निर्वाचन २०८४ पछि एमाले एक्लै बहुमतको सरकार बनाएर जनताको आकांक्षा पूरा गर्ने उहाँको भनाइ छ ।  

एमालेले मिसन २०८४ को अभियान सुरु गरेको बताउँदै उहाँले भन्नुभयो, “अबको अभियानको उद्देश्य घर–घरमा पार्टी सदस्य बनाउने र संगठन बिस्तार गर्दै एमालेको एक्लैको बहुमतको सरकार बनाउने वातावरण तयार गर्नुपर्छ ।” 

एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आज बुटवलमा उदघाटनसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को आम निर्वाचनबाट एमाले एक्लैको बहुमतको सरकार बन्ने दावी गर्नुभयो । “एमाले साना कुरामा अल्झिएर बाटो विराउने पार्टी होइन, आफ्नो उद्देश्यमा स्पष्ट योजना बनाएर अघि बढ्छ ।” 

एमाले काचो माटोको डल्लो नभएको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो, “देश बनाउने महान उद्देश्य बोकेको पार्टी एमालेबाट विगतमा बाटो बिराएर अन्यत्र गएकाहरुलाई फेरि फर्केर मूल घरमा आउन आग्रह गर्दछु ।” 

उहाँले एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको बताउनुभयो । एमालेको सदस्यता घट्यो भनेर हल्ला बिपक्षीहरुले चलाएको भन्दै उहाँले त्यस्तो अवस्था एमालेको नरहेको प्रष्ट पार्नुभयो ।  

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पोडेलले अहिले एमालेलाई खण्डित गर्न देशी बिदेशी तत्वहरु सल्बलाएको बताउँदै त्यो उद्देश्य पूरा नहुने बताउनुभयो । उहाँले २०८४ को आम निर्वाचनपछि एमालेको सरकार बनाउने गरी अहिले पार्टीले आफ्नो सक्रियता बढाएको बताउनुभयो । 

महासचिव शंकर पोखरेलले एमालेलाई अब अर्को चुनावमा बहुमत पाउने अवस्थाबाट कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले एमालेलाई अझै सशक्त पार्टीको रुपमा अघि बढाउन मिसन २०८४ को अभियान सुरु गरेको बताउनुभयो । 

उपमहासचिव प्रदिप ज्ञवालीले लुम्बिनी प्रदेश अधिवेशनबाट विवादरहित ढंगले अधिवेशन सम्पन्न गरेर नमूना प्रदर्शन गर्नुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेश संयोजक राधाकृष्ण कडँलेको अध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा एमालेका सचिव गोकर्ण विष्ट, नेताहरु छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेश इञ्चार्ज पदमा अर्याललगायतले बोल्नुभएको थियो ।

सम्मेलनमा लागि लुम्बिनी प्रदेशबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका १ हजार ४ जना प्रतिनिधिहरु सहभागी रहेका छन् । अधिवेशन भोलि आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीहरुले बताउनुभयो ।

कँडेल र रिजालबीच प्रतिस्पर्धा
एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कंडेल र एमाले केन्द्रीय सदस्य समेत रनुभएका प्युठानका हरि रिजालबीच प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्ष ओलीले सहमतिमा कार्य समिति चयन गर्न निर्देशन दिनुभएको छ ।

प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न पनि निर्देशन दिनुभएको छ ।

‘कसैको आशीर्वादमा होइन, आफ्नो क्षमताले नेतृत्वमा आउनहोस्, यहाँका नेताहरुले ब्यवस्थापन गर्नुहोस्’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईँहरू बसेर कुरा टुंङ्ग्याउनुहोस्, सबै सहमतिमा आउनुपर्छ । इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् ।’

अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट पार्टी एकताको सन्देश दिनुपर्ने बताउनुभयो । सुशासन र समृद्धिका लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने पार्टी एमाले भएकाले पार्टीले सोहीअनुसार सन्देश दिने काम गर्नुपर्छ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको दाबी पनि गर्नुभयो । आगामी निर्वाचनबाट एमाले एक्लै बहुमत ल्याएर देशलाई समृद्ध बनाउने उहाँको भनाइ उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया