अफगानिस्तानमा तालिबानद्वारा तीन दिनका लागि युद्धविरामको घोषणा

  जेठ ११, २०७७

इस्लामावाद, जेठ ११ : अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् । आइतबारदेखि लागु हुनेगरी शनिबार राती अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको समापनको अवसर पारेर मुस्लिम समुदायको बाहुल्यता रहेको अफगानिस्तानमा दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् । यसअघि पाकिस्तान सरकारले छ दिनका लागि विदा दिने निर्णय गरेको थियो ।

तालिबान विद्रोहीको तर्फबाट युद्धविराम घोषणा गर्दै जारी गरिएको सूचनामा यस अवधिमा कुनै हिंसात्मक घटना आफ्नो तर्फबाट नहुने दावी गरिएको छ । अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षका विचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ ।

द्वन्द्वका कारण हजारौंको मृत्यु भइसकेको छ भने धेरै विस्थापित भएका छन् । दुबै पक्षले युद्धविराम घोषणा गरेकोप्रति संयुक्त राष्ट्रसंघले खुशी व्यक्त गर्दै स्वागत गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यसअघि भएको शान्ति सम्झौतालाई पूर्ण रुपमा पालना गर्न आह्वान पनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया