काठमाडौं, जेठ ११ : प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीकचिह्न (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दै आउनुुभएको प्रतीकचिह्नलाई नेपालको वास्तविक सीमानुरुपको नक्सानुुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो) र सांसदले लगाउँदै आउनुुभएको प्रतीक परिमार्जन हुनेछ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि संसद्को लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको जानकारी दिए ।
संघीय संसद्का दुवै सदनका सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोसाक र संघीय संसद्को प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक पनि एक दिन पर सारेको छ । १२ गते इस्लाम धर्माबलम्बीहरुकोे पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो ।
यसअघि सरकारले नयाँ नक्साअनुसार नेपालको निसान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको छ । नयाँ नक्सा सार्वजजनिक भएसँगै अहिले प्रचलनमा रहेका सिक्का, मानपद्वी, सरकारी निकायका छापलगायतका कुराहरु परिवर्तन गर्नुपर्ने इकान्तिपुरमा उल्लेख छ ।






