चामे क्षेत्रको घट्टे खोला बढेपछि आवतजावत रोकियो

  भदौ ०८, २०८०

मनाङ, ८ भदौ : हिमाली जिल्ला मनाङको सदरमुकाम वरपरका घट्टे खोला बढेपछि आवतजावत रोकिएको छ । घट्टे खोला माथिल्लो क्षेत्रबाट एक्कासि बढेर आउँदा काठे पुललाई पानीको सतहले छोएपछि आवतजावत रोकिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले घट्टे खोलाको सतह बढेर काठे पुललाई छोएपछि सतर्कता अपनाउनका लागि आवतजावत रोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानीको सतहले काठेपुललाई छोइसकेको अवस्था छ, बाढीको जोखिम रहेकाले तत्कालका लागि सवारीसाधन तथा यात्रुलाई आवतजावत गर्न दिइएको छैन ।”

चामेवासी सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो । प्रजिअ ढुङ्गेलले भन्नुभयो, “वर्षा कम भए पनि कुनै स्थानमा पहिरो खसेर रोकिएपछि पानीको सतह बढ्दा ह्वात्तै खोला बढेको जस्तो छ, जीर्ण अवस्थामा रहेका काठे पुल पनि जोखिममा परेपछि सचेतता अपनाउन आग्रह गरिएको छ ।” चामे वरपरका ठाडो घट्टेखोला एक्कासि बढ्दा स्थानीयवासी त्रसित भएका छन् ।

स्थानीय लक्ष्मी गुरुङका अनुसार चामे क्षेत्रका ठाडो घट्टे खोलाको पानीको सतह बढेर आउँदा त्रसित बनाएको बताउनुभयो । “पहिलेको जस्तै हुने हो कि भन्ने डर लागेको छ, रातभरमा बढ्छ भनेर डराएका छन्”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले खोलामा आएको बाढीको जोखिम बढेपछि प्रहरी खटाएर नै काठेपुलबाट आवतजावत रोकिएको बताउनुभयो । “कुनै पनि घटना हुनबाट जोगाउन प्रहरी खटाएर सवारीसाधन, मानिसलाई आवतजावत गर्न दिइएको छैन”, उहाँले भन्नुभयो ।

बाढीले घट्टे खोला बढेर आएपछि काठे पुलमा क्षति पुगेको छ । पुलमा क्षति भएपछि सवारीसाधन तथा मानिसलाई आवतजावत गर्न सकिने अवस्था रहेको छैन । विसं २०६८ असार १ मा पनि चामे बजार वरपरका दुई घट्टे खोला एक्कासि बढेपछि चामेका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया